पोखरा स्पोर्टस् अवार्डमा बिभिन्न ४ विधाको मनोनयन सार्वजनिक

पोखरा, २६ बैशाख-
पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न ४  विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मंच कास्कीले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको हो  । जुरी कमिटीको सिफारिस र मंचको कार्यसमिति बैठकले पारित गर्दे  लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा लाइ प्रदान गरिने भएको  जानकारी कार्यक्रममा दिइएको थियो  । नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा  आउदो जेठ १ गते पोखरा स्पोर्टस् अवार्ड हुदैछ ।

अवार्ड अन्तर्गतका अन्य ४ विधामा  ३÷३ जना मनोनयनमा परेका छन् भने प्रतिभा छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । मनोनयनमा  उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराँते) परेका छन् ।

कार्यक्रम संयोजक समेत रहेका मंचका का.वा.अध्यक्ष एवं सन्देश श्रेष्ठले स्पोर्टस् अवार्ड सिंगो पोखराको इज्जतको रुपमा जोडिएको भन्दै यसलाई  सफल पार्ने सबैको दायित्व भएकोले सहयोगको अपेक्षा गर्दै सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरे । पोखरा सभागृहमा जेठ १ मा दिउँसो ४ बजे सुरु हुने अवार्ड वितरण समारोहको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक दीननाथ बरालले जानकारी दिदै वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिने भएको बताए ।

pokhara sports award 1

कार्यक्रममा मंचका कावा अध्यक्ष श्रेष्ठलाई पोखरा स्पोर्ट्स अवार्ड्स लेखिएको  टिसर्ट हस्तान्तरण गर्दै मलेसियाको क्लारा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक मीना गुरुङले मंचले गर्न लागेको कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

मंचका का.वा.अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नि.अध्यक्ष विनोद लामिछाने गरेका थिए भने कार्यक्रमको संचालन सचिव दीननाथ बरालले गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ भने कार्यक्रमका  सहयोगी संस्थामा  जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा रहेका छन् । त्यसैगरी वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् । नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा पोखरा सभागृहमा जेठ १ मा दिउँसो ४ बजेअवार्ड वितरण कार्यक्रम हुने भएको हो ।
२०५७ सालमा स्थापित खेलकुद पत्रकार मंच कास्कीमा हाल ४१ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button