पोखरा, ३१ बैशाख –
क्षेत्रीय रक्तसञ्चार सेवा, पोखरालाई समय अनुकुल स्तरोन्नती गर्नुपर्नेमा जोड दिइएको छ । क्षेत्रीय रक्त सञ्चार सेवाको आयोजना र केन्द्रिय रक्तसञ्चारको सहयोगमा पोखरामा सम्पन्न रगत र रगतजन्य पदार्थसम्बन्धी अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
केन्द्रिय रक्तसञ्चार सेवाका डा. प्रकाश यादवले विश्वमा ९० प्रतिशत कम्पोनेन्ट रगतको प्रयोग हुने गरेको बताउदै नेपालमा पनि कम्पोनेन्ट रगतको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वमा ७ देखि १० प्रतिशत मात्रै होल ब्लडको उपयोग हुने गरेको छ ।
पोखरामा प्लेटलेट रिच प्लाज्मा, प्लाज्मा, प्याक सेल, होल ब्लड र क्रायो गरि कम्पोनेन्ट रगत तयार गरिन्छ । चिकित्सकको सिफारिसमा विरामीको आवश्यकता अनुासर रक्त तत्व मात्रै प्रदान गर्नाले बाँकी रगत अरु विरामीको लागि उपयोग गर्न सकिन्छ । क्षेत्रीय रक्तसञ्चारमा रगतको तत्व छुट्याउने प्रविधिकासाथै इलाइजा प्रविधिबाट रक्त परिक्षण लगायतका सेवा प्रदान गरिने रेडक्रस कास्कीका कोषाध्यष एवम् स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै चिकित्सक डा. कालु शर्माले नयाँ प्रविधिसँगै रक्तसञ्चार सेवालाई अगाडी बढाउनुपर्ने बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठ, क्षेत्रीय क्षय रोग केन्द्र पोखराका निर्देशक एवम् फिजिसीयन डा. मुकुन्द आचार्य, डा. ऋषिराज हिराचन, डा. अञ्जना केसी, केन्द्रिय रक्तसञ्चारका पवन गुप्ता लगायतले बोल्नुभएको थियो । रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री कृष्ण तिमील्सीनाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा पोखराका विभिन्न अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो । हाल पोखरामा सरकारी र निजी गरि १८ वटा अस्पताल सञ्चालित छ । यसमध्ये २ वटा मेडिकल कलेज छन् ।
पोखरामा विस २०३५ शालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको पहलमा स्थापना भएको क्षेत्रीय रक्तसञ्चार सेवा पोखराले हाल कास्कीमा वार्षिकरुपमा झण्डै १३ हजार युनिट रगत संकलन गर्ने गर्दछ ।
स्वस्थ्व पुरुषले तीन तीन महिनाको फरकमा र स्वस्थ महिलाले चार चार महिनाको फरकमा रक्तदान गर्नसक्नेछन् । गर्भवती महिला, दुर्घटनमा परेका घाइते, शल्यक्रिया, डाइलोसीस गरिरहेका र हेमोफेलियाका विरामीहरुलाई रगत अति आवश्यक पर्दछ । ए नेगेटिभ, बी नेगेटिभ, ओ नेगेटिभ र एबी नेगेटिभ रक्त समूहलाई दुर्लभ रक्त समूह मानिन्छ ।
वि.स.२०३५ सालमा विकल शेरचन लगायत ८ जनाले पहिलोपटक रक्तदान गरेका थिए । यस क्षेत्रमा संकलन गरिएको रगत काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रमा पनि पठाइने गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति वामदेव ढुङ्गानाले जानकारी दिनुभयो । बढ्दो जनचेतनासँगै रक्तदान गर्नेको सङख्या पनि बढ्दै गएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution