मंजु र हेमन्त बने ‘पोखरा स्पोर्टस् अवार्ड–२०७२’ को वर्ष खेलाडी

पोखरा, १ जेठ –

पोखरामा पहिलो पटक आयोजित ‘पोखरा स्पोर्टस् अवार्ड–२०७२’ मा हेमन्त गुरुङ र मंजु गुरुङले वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा कराँतेका सुरेन्द्र गुरुङ र उदीयमान खेलाडीतर्फ शशी चौधरी भाग्यमानी बने ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको उक्त अवार्ड समारोह शालीन एवं भव्य बन्यो । समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फुटबल खेलाडी कृष्ण थापालाई सम्मानित गरियो । पोखरामा खेलकुदको विकाससँगै खेलाडीको सम्मानका लागि मंचले विभिन्न ५ विधामा अवार्ड वितरण गरेको थियो ।

pokhara sports award 2

वर्ष खेलाडीमा उत्कृष्ट बनेका हेमन्त र मंजुले अवार्डसहित नगद २५ हजार सहित सामसङ मोवाइल पुरस्कार पाए । हेमन्त १२ औं सागमा फुटबलमा नेपाललाई स्वर्ण जिताउन मद्दत पुरयाएका थिए भने मंजु भलिबलकी चर्चित खेलाडी हुन् । उनी खेलकुद पत्रकार मंचले केन्द्रमा आयोजना गरेको स्पोर्टस् अवार्ड २०६५ मा पनि पल्सर वर्ष खेलाडी घोषित भएकी थिइन् । वर्ष खेलाडी पुरुषतर्फ हेमन्तसहित शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका अशिम शेरचन त्यस्तै महिलातर्फ मंजुसहित उसुकी झरना गुरुङ र भलिबलकी अरुणा शाही मनोनयनको सूचीमा थिए ।

उत्कृष्ट प्रशिक्षक विधामा फुटबलका शम्भु केसी र भलिबलकी कौशिला खत्रीलाई पछि पार्दै कराँतेका सुरेन्द्र गुरुङले नगद १० हजार सहित अवार्ड प्राप्त गरे । कास्की दाङसिङका ३७ वर्षे गुरुङ क्षेत्रीय कराँते संघमा ९ वर्षदेखि प्रशिक्षक छन् ।

उदीयमान खेलाडी विधातर्फ नगद १० सहित अवार्ड जितेकी १५ वर्षे शशी भलिबल र एथलेटिक्सकी प्रतिभाशाली खेलाडी हुन् । उनले हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ ३ स्वर्ण जितेकी थिइन् । कैलालीकी शशी पोखराको टप्स स्कुलकी विद्यार्थी हुन् । विजेताले अवार्डले खेलमा थप खुसी र उत्साह थपेको बताए ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित वरिष्ठ फुटबल खेलाडी कृष्ण थापा कास्की हेम्जाका हुन् । लामो समय फुटबल खेल र प्रशिक्षकमा समर्पित थापा राष्ट्रिय टिमका प्रशिक्षक भैसकेका छन् भने विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन् । सम्मानपछि उनले ‘गृह नगरमा प्राप्त उक्त सम्मान जीवनकै अमूल्य सम्मान हो’ भने ।

प्रमुख अतिथि राखेप सदस्यसचिव केशवकुमार बिष्टले मंचले आयोजना गरेको अवार्ड कार्यक्रमको निरन्तरताको कामना गर्दै आगामी वर्षदेखि १ लाख रुपैयाँ छुट्याइने घोषणा गरे । उनले आगामी सागका ७ खेल पोखरामा गर्ने तयारी भएको पनि जानकारी दिए ।

अवार्ड विजेतालाई सदस्य सचिव बिष्ट, खेलकुद पत्रकार मंचका केन्द्रीय अध्यक्ष महेश आचार्य, प्रतिभा छनौट समिति संयोजक मंच कास्कीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघ कास्की अधयक्ष रामकृष्ण ज्ञवाली, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, समिति उपाध्यक्ष सुनिल गुरुङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघ अध्यक्ष विन्दुकुमार थापा, वल्र्ड भिजन इलेक्ट्रोनिक्स-वल्र्ड वाइड कनेक्सन संचालक सुशीलकुमार गुरुङ, दोहोरी गायक प्रजापति पराजुली, मंचका का.वा.अध्यक्ष सन्देश श्रेष्ठ, सागकी स्वर्ण विजेता नीमा घर्तीमगर, नि.बाहिनीपति प्रहरी उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्य, एन्फा कास्की अध्यक्ष धरमसिंह लामिछाने, सहारा क्लब अध्यक्ष वीरभद्र आचार्य, मंचका निवर्तमान अध्यक्ष विनोद लामिछाने, नेपाल नाट्य एकेडेमी प्रतिष्ठान सदस्य एवं गायक पूर्ण नेपाली लगायतले पुरस्कार वितरण गरे ।

करिब ३ घण्टा चलेको समारोहमा गायक पूर्ण नेपाली, भाष्करध्वज श्रेष्ठ, विनोद बानियाँ, प्रजापति पराजुलीले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने सारेगम कलाकेन्द्रका कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । नेपाल क्युकोसिन बुदोकाई कराँते संघले खेल कौशलमा दर्शक छक्क परे । मंचका का.वा.अध्यक्ष सन्देश श्रेष्ठले समारोहलाई सभ्य र भव्य बनाउन सहयोग पुरयाउनेलाई धन्यवाद दिए । श्रेष्ठका अध्यक्षतामा भएको समारोहमा स्वागत सहसचिव अर्जुन गिरीले गरेका थिए । संचालन मंच सचिव दीननाथ बराल, सदस्य मन क्षेत्री र लक्ष्मी जिसीले गरेका थिए ।

प्रतिभा छनौटमा मंचका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघ अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजक रहने गरी भूपू खेलाडी मंच सचिव हरि पराजुली, जिल्ला खेलकुद विकास समिति यम गुरुङ, पदेनसदस्य मंचका का.वा.अध्यक्ष सन्देश श्रेष्ठ र सचिव दीननाथ बराल थिए ।

नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका, क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा, वल्र्ड भिजन इलेक्ट्रोनिक्स-वल्र्ड वाइड कनेक्सन, हङकङ व्युटी इन्स्टिच्युट प्रालिलगायतले प्र्रायोजनको रुपमा सहयोग गरेका थिए । वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सरको रुपमा सहयोग गरेका थिए । सहयोग सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button