हेमजा, ६ जेठ –
सरकारी स्कुलहरु मर्ज भए भनेर सुन्दै आएका तपाई हामीहरुका लागि बोर्डिङ स्कुल सरकारी विद्यालयमा मर्ज भयो भन्ने खवर सुन्दा होइन होला भन्ने लाग्छ । हत्तपत्त सुन्दा पत्याउन पनि गारहै छ । किनकी सरकारी स्कुलबाट धमाधम आफ्ना छोराछोरी निकाली निजी विद्यालयमा भर्ना गर्न आतुर अधिकाश तपाई हामीलाई यो घटना वास्तविकता भन्दा अलि परको पनि हो ।
तर कास्कीको ढिकुरपोखरी ३ स्थित सन्राइन एकेडेमीलाई यही शैक्षिक सत्रदेखि ढिकुरपोखरी ३ कै महेन्द्र सामुदायिक प्राथमिक विद्यालयमा गाभिएको छ । विद्यार्थी सङख्या कम भएको कारण देखाउर्दै जिल्ला शिक्षा कार्यालयले महेन्द्र प्राविलाई गत चैत २५ गते विद्यालय गाभ्ने सम्बन्धमा पत्र काटेपछि स्थानियहरुको पहलमा विद्यालय जोगाउन अनेक प्रयास भए । फलस्वरुप नजिकैको बोडिङ स्कुललाई उक्त विद्यालयमा गाभ्न बोडिङ सञ्चालकहरु पनि तयार भए । सनराइजका कुल ५० जना विद्यार्थी महेन्द्र प्राविमा भर्ना भए र विद्यालयमा यतिवेला पठनपाठन भइरहेको छ ।
कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले देशमै निकै नौलो र उदाहरणीय काम ढिकुरपोखरीको विद्यालयमा भएको बताएका छन् । शर्माले भने ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० को परिच्छेद २ को बुद्घा नं. ४ मा रहेर कास्कीका यसपटक हामीले कुल एक सय ४५ सरकारी विद्यालयलाई मर्जको लागि चिठी काटीसकेका छौं’ ।तर ‘महेन्द्र सामुदायिक प्राविको जस्तो उदाहरणीय र प्रशम्सनीय काम अन्त कतै भएको छैन’ । बोडिङ स्कुलमा पढ्दैमा गुणस्तरीय शिक्षा हासिल गरिने तर सरकारीमा हुने बित्तिकै गुणस्तरीय शिक्षा नहुने भन्ने परिपाटी ढिकुरपोखरीको विद्यालयबाट गलत सावित भयो जिल्ला शिक्षा अधिकारी शर्माले भने ।
जब २०७२ पुस २६ गते एक्सन एड नेपाल र महिला सशक्तिकरण समाज नेपालले तालिम दियो त्यसबाट आफुहरुलाई विद्यालय व्यवस्थापनका धेरै विषयमा जानकारी हासिल गरेको र पुनः फागुन ३ गतेको व्यवस्थापन तालिम लिएपछि विद्यालय सुधारमा योजनाबद्घ तवरले प्रयासहरु थालेका कारण विद्यालय मर्ज हुनबाट बचेको प्रधानाध्यापक ढकराज सुवेदी सम्झन्छन् । प्रधानाध्यापक सुवेदी भन्छन्, ‘गत शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म जम्मा ६ जना र शिशु कक्षामा ५ जना गरी कुल ११ जना मात्र विद्यार्थी थिए, अव विद्यालय मर्ज हुने भयो, मर्ज हुन दिनु हुदैन भन्दै कसियौँ, अहिले ७२ जना विद्यार्थी पुगेका छन्, यसमा स्थानिय सुर्य परियारको ठुलो भूमिका रहेका छ ’।
विद्यालयका सहायक प्रधानाध्यापक सीतादेवी भण्डारी अव विद्यालयलाई नयाँ व्यवस्थापनका साथ अगाडि बढाउने योजना सुनाउछिन् । उनी भन्छिन्ः अव प्रत्येक महिना अविभावकसँग अन्र्तक्रिया गर्ने, अविभावकलाई अनुभुति हुने खालको शिक्षा दिने, विभिन्न छात्रबृर्तिका लागि पहल गर्ने, सरकारी शिक्षक अल्छी छैनन् भन्ने उदाहरण विद्यालयबाट प्रस्तुत गर्ने, टेष्ट लिएर मात्रै विद्यार्थी भर्ना गर्ने काम हामीले योजनाबद्घ रुपबाट पुरा गरी छाड्ने छौं, सहायक प्रधानाध्यापक भण्डारीले भनिन् । भण्डारी भन्छिन्ः ‘स्थानिय मर्निङस्टार उच्च माविले कक्षाका प्रथम, द्वितिय र तृतीयलाई विभिन्न छात्रबृर्ति दिई लैजान्थ्यो । विद्यालयका अन्य दलित विद्यार्थीलाई पिटर भन्ने बिदेशी व्यक्तिले मर्निङस्टारमानै छात्रबृर्तिमा पढाई दिन्थ्यो, सेवा क्षेत्र भित्र विद्यार्थी नै थिएनन् । म्याग्दी र बाग्लुङ जिल्लाका दुर्गम गाँउबाट बसाईसराई गरी आएका परिवारका अलिअलि बालबच्चा मात्रै हुन्थे, अनी कसरी विद्यालयमा धेरै विद्यार्थी हुने’ ।
विद्यालयले यस शैक्षिक सत्रमा मर्निङस्टार उच्च माविबाट ८ जना, धौलागिरी बोडिङ स्कुल हेमजाका ३ जना, विद्यालयका शिशु कक्षादेखि ५ कक्षासम्मका कुल ११ जना र सन्राइज एकेडेमीका पुरै विद्यार्थी अर्थात ५० जना भर्ना गराउन सफल भएको छ । त्यसका साथै स्थानिय गाइ जोसेफ प्रारम्भिक बालविकास केन्द्रलाई पनि विद्यालयमा नै आवद्घ गरिएको छ । विद्यालयमा ढिकुरपोखरीको पश्चिम लक्ष्मी देउराली, पुर्व अधिकारीडाँडा र लेवाडे सम्मका विद्यार्थी पठनपाठन गर्न जाने गरेका छन् । विभिन्न २० दाताहरुसँग जनही रु. ५० हजारका दरले १० लाख जम्मा गरेर सोको व्याजबाट ३ जना निजी शिक्षकको व्यवस्था समेत विद्यालयले मिलाइ सकेको छ ।
त्यस्तै कक्षा १ देखि ५ सम्म अङग्रेजी माध्ययमबाट पढाई सुरु गरिएको छ ।नर्सरी र केजी कक्षाको कक्षा सजावटमा बिशेष ध्यान दिइएको छ ।विद्यार्थी अनुसारका फर्निचरको व्यवस्था पनि विद्यालयले मिलाएको छ ।विद्यालयका पुर्व विद्यार्थी ऋषि भण्डारीको सहयोगमा सबै विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक पनि उपलब्ध गराइसकिएको छ ।
विद्यालयका शिक्षक मनोजकुमार परियार निजी विद्यालयमा भर्ना गर्ने बित्तिकै विद्यार्थी जान्ने हुन्छन् भन्ने परिपाटी तोड्न आफुहरु सफल भएको बताउछन् । त्यस्तै विद्यालयकी सहयोगी कार्यकर्ता मालिका भण्डारी विद्यार्थीको चरम अभाव रहेको विगत सम्झदैं आगामि चैत भित्र विद्यालयमा नमुना प्रारम्भिक बालविकास केन्द्र बनाउने योजना सुनाउछिन् ।
अविभावक वसन्तधोज कुबँरले आफ्ना छोराछोरीलाई बोडिङ स्कुलबाट निकालेर सरकारी विद्यालयमा ल्याएका छन् । कुबँर भन्छन्ः ‘विद्यालयको नियमित रेखदेख गछौं, पठनपाठन सुधारका लागि विद्यालय प्रशासनलाई रचनात्मक सुझावहरु दिन्छौं । यति गरेपछि त विद्यालयको पठनपाठन कसो सुधार नहोला र’ उनी प्रश्न गर्दछन् ।
हाल विद्यालय गाभ्ने सम्बन्धमा मिति २०७० असोज २३ गते मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भई शिक्षा मन्त्रालयबाट जारी भएको ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७०’ कार्यान्वयममा छ । जस अनुसार पहाडी क्षेत्रमा सामुदायिक प्रावि तह कक्षा १ देखि ३ सम्म २० जना, कक्षा १ देखि ५ सम्म २५ जना विद्यार्थी कायम नरहेमा वा भविष्यमा पनि उक्त विद्यार्थी सङख्या पुग्ने पर्याप्त आधार नदेखिएमा उक्त विद्यालयलाई समायोजन (गाभ्ने) प्रावधान रहेको छ ।महेन्द्र प्राथमिक विद्यालय लगायत कास्कीका कुल एक सय ४५ विद्यालयलाई जिल्ला शिक्षा अधिकारी शर्माको अध्यक्षतामा यही मिति २०७२ चैत ५ गते बसेको सामाजिक संवाद समितिको बैठक र मिति २०७२ चैत २२ गते बसेको जिल्ला शिक्षा समितिको बैठकले गाभ्ने निर्णय गरेको थियो । २०७३ बैशाख मसान्त सम्म विद्यार्थी सङख्या पुरयाउन समय दिने र उक्त समय सम्ममा पनि विद्यार्थी नपुगे नजिकको विद्यालयमा समायोजन गर्ने निर्णय जिल्ला शिक्षा समितिले गरेको थियो । जसअनुसार काम कारवाही अगाडि बढीरहेको जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिएका छन् ।अघिल्लो शैक्षिक सत्रमा ६ जना विद्यार्थी मात्र रहेको विद्यालयमा यस शैक्षिक सत्रमा कुल ७२ जना विद्यार्थी अध्ययरत छन् ।