पोखरा, ११ जेठ –
आमाको गर्भबाट बाहिर निस्केको एक वर्ष पुगेपछि जन्मदिन मनाउने चलन विश्वभरी नै छ । अनि ती वर्षका श्रृङ्खलाहरु मानिस नमरुञ्जेलसम्म जारी रहन्छन् । जन्म दिनमा अनेक कर्म उपकर्महरु पनि गरिन्छन् । कतिपयले आफ्नो जन्मदिन सामाजिक सेवा गरेर मनाउँछन् भने कतिपयले पार्टी प्यालेस, रेष्टुरेण्ट तथा होटलहरुमा आफन्त र साथीभाई भेला गरेर खर्चिलो गरी मनाउँछन् ।
यो त भयो आम मानिसले वर्ष दिन पुगेपछि मनाउने जन्मदिनको कुरा । तर पोखरामा यस्ता मानिसहरु छन् जसले पुनर्जन्म दिन मनाउने गर्छन् । जन्महरु एउटै हुन तर जन्म र पुनर्जन्म फरक कुराहरु हुन् । आम मानिसहरुले जन्मदिन मनाईरहँदा केही मानिसहरु भने, मंगलवार पोखरामा पुनर्जन्मदिन मनाईरहेका थिए । लागु पदार्थ प्रयोगको दलदलमा फसेर निको भएको दिनलाई उनीहरुले पुनर्जन्म दिन भनेर मनाउने गरेका छन् । लागु औषधको क्षेत्रमा उपचार तथा परामर्श नौलो घुम्ती नेपालले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रबाट उपचार सकेका पुर्व लागूऔषध प्रयोगकर्ताहरुले पुनर्जन्म दिन मंगलवार मनाए ।
‘हामीले जन्म त पायौं तर लागू औषधका कारणले मरेतुल्य भएका थियौं, यहाँ उपचार पछि पुनर्जीवन पाएका छौं ।’ पुनर्जन्म दिन मनाउने नौलो घुम्ती नेपालको सभाकक्षमा भेला भएका पुर्व लागू औषध प्रयोगकर्ताहरुले भने । त्यस अवसरमा पुर्व लागु औषध प्रयोगकर्ताहरुले आफुले उचार तथा पुनस्र्थापनाका क्रममा भोगेका अनुभवहरु पुनस्र्थापना केन्द्रमा उपचार गराईरहेका सेवाग्राहीलाई सुनाएका थिए । ‘मेरो लागू औषध प्रयोगको अवस्था कहालीलाग्दो थियो ।’ १२ वर्ष अघि नौलो घुम्तीमा उपचार गरी पुनस्र्थापना भईसकेका एक पुर्व लागू औषध प्रयोगकर्ताले पुनर्जन्मदिन मनाउने आयोजित कार्यक्रममा भने, ‘उपचार र पुनस्र्थापनापछि अहिले मसँग सबै थोक छ, परिवार छ, बच्चाहरु छन्, मसँग संसारको सबैथोक छ ।’ पुनस्र्थापना केन्द्रमा उपचार गरे लागू औषध प्रयोगको समस्या समाधान गर्न नसिकने भने नहुने बताउँदै उनले, आफुमा प्रतिबद्धता र जीवनप्रतिको सकारात्मक सोचाई विकास गर्न सकेमा जुनसुकै बेला पनि लागू औषधबाट मुक्त हुन सकिने अनुभव सुनाए ।
कार्यक्रममा सहभागी अर्की सहभागीले पनि समान भोगाई र समस्या सुनाईन् । ‘बाबा र दाई विदेश हुनुहुन्थ्यो, घरमा सानो भाई, आमा र म मात्रै थियौं, अनि मलाई के चाहियो र आमा र भाईलाई ढाँट्दै लागू औषध प्रयोग गरें, अन्त्यमा परामर्श र उपचार पछि पुनस्र्थापति भएँ ।’ उनले पनि समान अनुभव सुनाउँदै आफुमा प्रतिबद्धता भएमा लागू औषधको कहालीलाग्दो जंगलबाट बाहिर निस्कन सकिने अनुभव प्रदान गरिन् ।
‘लागू औधष मुक्त जन्मदिन समारोह नाम दिईएको उक्त कार्यक्रममा नौलो घुम्ती नेपालमा परामर्श र उपचारपछि समाज तथा परिवारमा पुनस्र्थापना भएकाहरुलाई अबिर, खादा लगाएर उनीहरुको जन्मदिन मनाईएको थियो ।’ यसरी जन्मदिन मनाउँदा, उनीहरुमा लागू औषध सेवन प्रति वितृष्णा बढ्दै जाने र पुन लागू औषध प्रयोग गर्ने मानसिकतामा कमी आउने हुनाले लागू औषधको प्रयोगबाट मुक्त भएको दिन पारेर जन्मदिन समारोह आयोजना गरिएको नौलो घुम्ती नेपालका परामर्श, उपचार तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक मना ज्ञवालीले बताईन् । नौलो घुम्तीका कार्यकारी निर्देशक शिवराज शर्माले यस्ता कार्यक्रमले लागू औषध पुर्व प्रयोगकर्ता र अहिले उपचार गराईरहेका सेवाग्राहीहरु बीच सम्बन्ध नजिकिने र त्यो सम्बन्धका कारण लागू औषध प्रयोग गर्ने छोड्ने प्रतिबद्धता बलियो हुने बताए ।
नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष दीनकुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले लागू औषध प्रयोगले जीवनलाई समाप्त जस्तै पार्ने हुनाले यसको यसबाट जति सक्दो छिटो मुक्त हुन उपचार तथा पुनस्र्थापना केन्द्रमा सेबा लिईरहेकाहरुलाई सुझाव दिएका थिए ।
नौलो घुम्ती नेपालले हरेक आफ्नो पुनस्र्थापना केन्द्रमा उपचार गराएर समाजमा स्थापित भई विभिन्न पेशा तथा व्यवसायमा लागेका वर्ष पूर्व लागू औषध प्रयोगकर्तालाई उपलब्ध भएसम्म बोलाएर ‘ड्रग फ्रि बर्थ डे’ मनाउने गरेको नौलो घुम्ती नेपालकी वित्त तथा प्रशासन प्रमुख शुसीला थापाले जानकारी दिईन् ।