पोखरा, १२ जेठ –
पोखराको ऐतिहासिक तथा धार्मिकस्थल नारायणथान मन्दीरको जग्गा रहस्यमय ढंगले व्यक्तिको नाममा दर्ता भएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नारायणथान गुठीको जग्गा रहस्यमय ढंगले व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको हो ।
समितिका अध्यक्ष महेश पराजुलीले नारायणस्थान गुठीको करोडौं मुल्य बराबरको जग्गा रहस्यमय ढंगले व्यत्तिको नाममा नामसारी भएको दाबी गरेका हुन । मन्दिरका पूजारी पुष्पराज लामिछानेले गुठीको नाममा रहेको मन्दिरको जग्गा आफ्नो नाममा नामसारी गरेको उनले दाबी गरे । मालपोत कार्यालय, जिल्ला प्रंशासन कार्यालय हुदै अख्तियारमा समेत उक्त गुठीको जग्गा व्यक्तिको नाममा दर्ता हुन लागेकोले जग्गा रोक्का गर्न पटक पटक पत्र सहित जानकारी गराउदा पनि अटेर गरेर सार्वजनीक जग्गाको संरक्षण गर्नुपर्ने निकायबाटै रहस्यमय ढंगले पुजारी लामिछानेको नाममा हालै करीब ८ रोपनी ७ आना जग्गा नामसारी भएको उनले बताए । जग्गा रोक्का गर्न माग गर्दा गर्देै रातारात सावर्जनीक जग्गा व्यक्तिको नाममा नामसारि हुनु मालपोत कार्यालय माथि प्रश्न चिन्ह ः उठेको पराजुलीले बताए । गत वैशाख २३ को पत्रबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र जानकारीको लागि मालपोत कार्यालय कास्कीले साविक छिनेडाँडाँ हाल पोखरा १४ को कि. न. ९७५ क्षेत्रफल ८ रोपनी ७ आना दुई दाम एक पैसा जग्गा धनिले नै शेषपछिको लिखित गरी दिँदा नै उक्त जग्गा नारायणथानको गुठी भएको र पुजा अर्चना गरी खानु भनेरको उल्लेख गरेको छ । यस बिषयमा पुजारी पुष्पराज लामिछानेलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । २०६१ साल समिति गठन हुनु अघि नै पुष्पराज लामिछानेले करीब १४ रोपनी जग्गा विक्रि गरेको समितिका अध्यक्ष पराजुलीले दाबी गरे । समितिले जग्गा फिर्ता नभए अदालत सम्म जाने भएको छ ।
सो नारायणस्थान मन्दिर १९३७ अघि स्थापना भएको फिरन्ता ब्रह्माचारी गणेश गिरीले स्थापना गरी नारायण गुठी सञ्चालनमा ल्याएका थिए । सो समयमा पोखरा ३ नदीपुर निवासी देवीदत्त पाध्या पराजुली पूजारी थिए । पराजुलीको शेषपछि उनका २ छोराहरु रुद्रनाथ र टीकानिधिले पूजाआजा गर्दै आएको र उनीहरुको निधनपछि रुद्रनाथकी श्रीमती पवित्रा पराजुली र टिकानिधिकी श्रीमती गंगा पराजुलीले पूजारी राखेर पूजाआजाको व्यवस्थापन गर्दै आएका थिए । उनीहरु सहोदर जेठानी देउरानी हुन् । सो क्रममा २०३१ सालमा पुनः जग्गा नापजाँच सर्भे गर्ने क्रममा पराजुली जेठानी देउरानी मिलेर गुठीको जग्गा आफ्नो नाममा दर्ता गराएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको दाबी छ ।
जग्गा व्यक्तिको नाममा नामसारी भएको खुलाशा भएपछि २०६१ साल जेठ ३१ गते समाजसेवी तथा बरिष्ठ पत्रकार तेजनाथ घिमिरेलगायतको समूहले जिल्ला प्रशासन कार्यालयमा बदर गरी गुठीकै नाममा यथावत कायम राख्न माग गर्दै निवेदन दिएको थियो । त्यसपछि २०६१ साल पुष ११ गते पोखरा ११ निवासी रुद्रनाथ अधिकारीसहित २१ जनाले पुनः जग्गा गुठी नाममा यथावत राख्न माग गर्दै निवदेन दिएपश्चात जिल्ला प्रशासन कार्यालय कास्कीले मालपोत कार्यालयलाई सो जग्गा रोक्का गर्न आदेश दिएको थियो । त्यसपछि पनि जग्गा व्यक्तिको नाममा नामसारी हुने प्रयास भइरहेको भन्दै समितिले गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्र पठाएको र संस्थानले २०७० बैशाख १० गते पत्र पठाउँदै गुठीको जग्गा व्यक्ति विशेषको नाममा नामसारी गर्न नपाउने गरी रोक्का आदेश दिएको र मालपोत कार्यालय कास्कीले रोक्का राखेको समितिको भनाई छ ।
जग्गा रोक्का भएपछि पुष्पराज पराजुलीले पुनरावेदन अदालत पोखरामा जग्गा नामसारी गर्न पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । सो मुद्धामा २०७१ साल फागुन ३ गते फैषला गर्दै पुनरावेदन अदालतले पुष्पराजलाई गुठीले पूजारी तोकेको वा जग्गाको संरक्षण गर्ने जिम्मा पनि नदिएको देखिएको बताउँदै फुकुवा गर्नुपर्ने आधार नभएको बताएको छ ।
तर निवेदकले अख्तियार र मालपोतलाई प्रभावमा पारेर हाल आएर जग्गा नामसारी गर्न सफल भएको समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आरोप लगाएको छ । अख्तियारले २०७३ साल बैशाख ५ गते समितिलाई जानकारी पनि नगराई साविक छिनेडाँडा १ र हाल पोखरा १४ मा रहेको नारायण गुठीको कित्ता नम्बर ३८५ फोडेर कायम गरिएको कित्ता नम्बर ९७५ को ८ रोपनी ७ आना २ दाम १ पैसा जग्गा रैकरमा परिणत गर्न पत्र पठाएको समितिको भनाई छ । सोही आदेशलाई आधार मान्दै मालपोत कार्यालयले पूजारी लामिछानेको नाममा जग्गा नामसारी गरिदिएको समितिले बताएको छ ।
समितिले गुठीको जग्गा व्यक्तिलाई नामसारी गरी व्यक्तिगत बनाउन नभई भोगचलन गर्न मात्र पराजुली परिवारलाई दिएकाले सो जग्गा गुठीकै नाममा फिर्ता गर्न माग गरेको छ । समितिका वर्तमान अध्यक्ष महेश पराजुलीले मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा पुष्पराजले आफ्नो नाममा जग्गा नामसारी गरेको आरोप लगाए । उनले जग्गा नामसारी हुन लागेको थाहा पाएर प्रशासनमा उजुरीसहित मालपोतमा रोक्न आग्रह गर्दागर्दै पनि अटेर गरेर अख्तियारको हवाला दिदै जबरजस्ती जग्गा नामसारी गरेको बताए । उनले राज्यले संरक्षण गर्नुपर्ने जग्गा राज्यकै निकायमा बस्नेहरुको मिलेमतोमा नामसारी हुनु दुःखद भन्दै यस निर्णयले नजीर बस्ने र अन्य जग्गा पनि हडप्ने हो कि भन्ने आशंका उब्जाएको भन्दै चिन्ता व्यक्त गरे ।
बरिष्ठ पत्रकार तथा समाजसेवी तेजनाथ घिमिरेले प्राकृतिक न्याय सिद्धान्त विपरित ढंगले सार्वजनीक सम्पति व्यक्तिको नाममा नामसारी हुनु रहस्यमय भएको बताए । सार्वजनीक जग्गा फिर्ताका लागि प्रशासनको ध्यानाकर्षण समेत उनले गराए । गुठी निर्माणका संस्थापक कर्णशंकर पालिखेले हिन्दु धर्मावलम्बीको आस्थाको केन्दै नारायणस्थान मन्दिरको जग्गा प्रशासनकै मिलेमतोमा लुटिन लागेको आरोप लगाए ।