
फलेवास (पर्वत), १४ जेठ –
मुलुकभर चर्को विद्युत्भार कटौती भइहेका बेला पर्वत जिल्लामा रहेका विद्युत् उत्पादन केन्द्रमा भने विद्युत् उत्पादन वृद्धि भएको छ।
पछिल्लो सातादेखि वर्षा भएपछि र हिउँ पग्लन थालेपछि पर्वतको देउपुरस्थित मोदीखोला जलविद्युत् केन्द्र र चुवास्थित तल्लो मोदीखोला ए जलविद्युत् केन्द्रमा एक सातायता विद्युत् उत्पादन वृद्धि हुन थालेको हो ।
हिउँ पग्लन थालेपछि मोदीखोला जलविद्युत् केन्द्रमा पाँच मेगावाट र तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा तीन मेगावाट थप विद्युत् उत्पादन भएको हो । केही दिनयता चर्को घामसँगै वर्षा र हिउँ पग्लन थालेकाले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेपछि दिनमा भन्दा रातको समयमा विद्युत् उत्पादन अझै बढेको केन्द्रले जनाएका छन् ।
देउपुरस्थित १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा अहिले १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । एक साताअघि पाँचदेखि ६ मेगावाट मात्रै उत्पादन भएको केन्द्रमा अहिले दैनिक १० मेगावाट उत्पादन भइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान–दिउँसो नौ र बेलुकाको समयमा १० मेगावाटसम्म उत्पादन हुने गरेको छ । अहिले दुईवटै टर्वाइन सञ्चालन भएको उहाँले बताउनुभयो । गर्मीयाम सुरु भएसँगै हिउँ पग्लन थालेकाले सुख्खायाममा भन्दा विद्युत् उत्पादन बढेको उहाँले बताउनुभयो । हिउँदको समयमा उक्त केन्द्रबाट चार मेगावाट मात्रै उत्पादन भएको थियो । लामो समयको खडेरीका कारण खोलामा पानीको सतह घटेकाले यस वर्षको हिउँदमा सबैभन्दा कम उत्पादन भएको थियो ।





