सुदूरपश्चिममा एक हजार सात सय क्षयरोगी

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १४
सुदूरपश्चिममा एक हजार सात सय क्षयरोगी

बैतडी, १४ जेठ –

चालु आर्थिक वर्षको आठ महिनामा सुदूरपश्चिममा एक हजार ७४२ जना क्षयरोगका बिरामी उपचारमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । तीमध्ये ९८७ जनामा एकदम सर्नेखालको क्षयरोग भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अधिकृत मनोज ओझाले बताउनुभयो ।

“गत वर्षको तुलनामा भने क्षयरोगका बिरामी घटेका छन्”, उहाँले भन्नुभयो–“गत वर्ष सुदूरपश्चिममा दुई हजार १७ जना बिरामी फेला परेका थिए ।”अधिकृत ओझाका अनुसार सबैभन्दा बढी कैलालीमा ६८१ जना उपचारमा रहेका छन् । कञ्चनपुरमा ४४८ जना, बैतडीमा १३१ जना, अछाममा १०२ जना, बझाङमा ९४ जना, डोटीमा ९८ जना, बाजुरमा ४७ जना र दार्चुलामा ६४ जना उपचारमा रहेका छन् । यीमध्ये १४ वर्षमुनिका बालबालिका ९१ जना क्षयरोगी रहेका छन् भने ६५ वर्षमाथिका १८८ जना उपचारमा रहेका छन् ।

सुदूरपश्चिममा १५ देखि ५४ वर्षका दक्ष जनशक्तिमध्ये एक हजार ६९ जनामा यो रोगको सङ्क्रमण रहेको छ । उपचारमा रहेका क्षयरोगीको उपचारको सफलता दर ८८ प्रतिशत रहेको छ भने मृत्यु दर ५.१८ प्रतिशत रहेको छ । चालु आवको दुई चौमासिकमा अछाममा सातजना, बैतडीमा आठजना, बझाङमा पाँचजना क्षयरोगीको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा आठजना, दार्चुलामा एकजना, डोटीमा आठजना, कञ्चनपुरमा १९ जना र कैलालीमा २६ जना क्षयरोगीको मृत्यु भएको बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस