सरकारी शिक्षकका कारण भर्ना अभियान असफल

जाजरकोट, १५ जेठ –

सरकारले तामझामका साथ सञ्चालन गरेको मुस्कानसहितको विद्यार्थी भर्ना अभियान जाजरकोटमा असफल भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विद्यालयमा विद्यार्थीको भर्ना दर र उपस्थिति दर बढाउने रणनीतिको रुपमा लिएको मुस्कानसहितको भर्ना अभियान शिक्षककै असहयोगका कारण असफल भएको हो । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि सरकारले उर्दी जारी गरिरहेका बेला यहाँका केही शिक्षक आफूले लगानी गरेका बोर्डिङ स्कुलका लागि विद्यार्थी खरिद गर्न गाउँगाउँ डुल्न थालेपछि उनीहरुले पढाउने विद्यालयमा विद्यार्थी सङ्ख्या निकै घट्न पुगेको छ ।

सदरमुकाम खलङ्गादेखि दुर्गम गाउँसम्म खुलेका अधिकांश बोर्डिङ स्कुलका सञ्चालक एवम् लगानीकर्ता सामुदायिक विद्यालयका शिक्षक छन् । उनीहरु स्वयम् नै सरकारी विद्यालयमा पढ्नु हुँदैन भनेर अभिभावक एवम् विद्यार्थीलाई उक्साइरहेका छन् । सरकारी शिक्षककै कारण अहिले सदरमुकामलगायत अन्य स्थानका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या निकै घटेको छ । सदरमुकाम खलङ्गाको रानागाउँस्थित भेरी प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको सङ्ख्या जम्मा ४१ छ । विगतमा पढाइ र अन्य व्यवस्थापनमा निकै चर्चामा रहेको उक्त विद्यालयमा विद्यार्थीको सङ्ख्या अहिले निकै घटेको छ भने नजिकैको कस्तुरी सहकारी बोर्डिङ स्कुलमा ४२६ विद्यार्थी छन् । पाँच मिनेटको पैदल दूरीमा रहेका दुई विद्यालयमा विद्यार्थी सङ्ख्या आकास पातालको फरक छ । उक्त सरकारी विद्यालयमा चार वटा स्थायी दरबन्दीसहित अन्य जनशक्तिको व्यवस्थापन गरिएको छ । तर विद्यार्थी सङ्ख्या हेर्दा १ कक्षामा १० जना, २, ३, ४ कक्षामा ८÷८ जना र ५ कक्षामा ७ जना विद्यार्थी छन् ।

त्यस्तै रामजानकी प्राथमिक विद्यालय इउरीमा पनि जम्मा विद्यार्थी सङ्ख्या ३५ छ । उता शान्ति ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा विद्यार्थी सङ्ख्या भने ३२५ छ । भेरी र रामजानकी प्राथमिक विद्यालयमा मात्र होइन जिल्लाका २८४ वटै सामुदायिक प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या निकै घट्दो दरमा रहेको छ भने बोर्डिङ स्कुलमा विद्यार्थी सङ्ख्या बढ्दोरुपमा रहेको छ ।

खलङ्गाका शान्ति ज्ञानकुञ्ज र कस्तुरी सहकारी मात्र होइन पैंक, ढिमे दल्लीलगायतका गाउँका अधिकांश बोर्डिङ स्कुलमा विद्यार्थी सङ्ख्या निकै बढ्दो छ जहाँ सरकारी विद्यालयका शिक्षकको लगानी छ । सामुदायिक विद्यालय नजिकै बोर्डिङ खोलेर सरकारी विद्यालयका शिक्षकले विद्यार्थी खरिद गर्ने गरेका छन् । सरकारी विद्यालयको भर्ना अभियानमा चासो नदिए पनि बोर्डिङ स्कुलमा विद्यार्थी तान्नका लागि उनीहरु रात दिन खटिने गरेका छन् । जिल्लाभरि रहेका १५ बोर्डिङ स्कुलमा तीन हजार बढी विद्यार्थी सङ्ख्या रहेको शिक्षा कार्यालयले जनाएको छ ।

प्रत्येक निजी विद्यालयमा ३०० भन्दा बढी विद्यार्थी छन् भने कुनै सामुदायिक विद्यालयमा २० जना पनि विद्यार्थी पुग्न धौ धौ परेको अवस्था छ । सरकारी स्कुलमा पढाइ पनि राम्रो नहुने र समाजमा मान प्रतिष्ठा पनि उच्च नहुने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई बोर्डिङमा पढाउने गरेको भेरी प्राथमिक विद्यालयका प्रधानाध्यापक ललित राजभण्डारीले बताउनुभयो । उहाँले बोर्डिङमा विद्यार्थी चाप बढ्नुमा सरकारी विद्यालयको कमजोर व्यवस्थापन नै भएको बताउनुभयो ।

सरकारी स्कुलमा छोराछोरी पढाए समाजमा गरिबीको बिल्ला लाग्ने भएकाले मानिसले बोर्डिङमा छोराछोरी पढाउने गर्छन्, भण्डारीले भन्नुभयो । सरकारी विद्यालयका शिक्षकले जानीजानी विद्यालयको व्यवस्थापन बिगार्ने काम गरेको स्थानीय अभिभावक नवराज शर्माले बताउनुभयो । उहाँले स्कुल नगएर धेरै दिनको एकै पटक हाजिरी लगाउने र आफ्नो जिम्मेवारीतिर कुनै मतलब नराख्ने शिक्षकका कारण सरकारी विद्यालय निकै दयनीय अवस्थामा पुगेको बताउनुभयो ।

उता जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह भन्नुभयो, “सरकारी विद्यालयको तलब खाएर बेइमानी गर्ने शिक्षकका कारण सामुदायिक विद्यालयको व्यवस्थापन कमजोर भएको बताउनुभयो ।” उहाँले आफू सामुदायिक विद्यालयमा पढाउने तर बोर्डिङका लागि विद्यार्थी खरिद गर्ने गलत कार्यले समस्या परेको बताउनुभयो । यसबारेमा आफूले सर्वपक्षीय अन्तक्र्रिया वा छलफल गरेर केही टुङ्गोमा पुग्ने तयारी गरेको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button