‘एक घर एक ब्ल्याङ्केट’का लागि चलचित्र प्रदर्शन

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १५
Post Thumbnail

काठमाडौँ, १५ जेठ –

भूकम्पपीडित जनतालाई ‘एक घर एक ब्ल्याङ्केट’ जुटाउनका लागि नेपाली चलचित्र ‘लभ यु बाबा’को च्यारिटी शो ९प्रदर्शन० गरिएको छ ।

गत वर्ष वैशाख १२ मा गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति पुगेकाले भूकम्पपीडितको घाउमा केही मलहम लगाउने उद्देश्यले दीपशिखा फाउन्डेसनले सो चलचित्रको च्यारिटी शो गरेको हो । विश्वकै कान्छा निर्देशक सौगात विष्टद्वारा निर्देशित ‘लभ यु बाबा’को शुक्रबार साँझ सिटी सेन्टर कमलपोखरीको विग मुभीमा च्यारिटी शो गरिएको थियो ।

सो चलचित्र हेर्न नेपाली काँग्रेस नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले दीपशिखा फाउन्डेसनले विश्वकै सबैभन्दा कान्छो निर्देशकद्वारा निर्देशित चलचित्रलाई दर्शकसामु देखाएर भूकम्पपीडित जनतालाई सहयोग गर्न लागेकोमा फाउन्डेसनलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडित जनताका सक्दो सहयोग गर्ने छु ।”

भूकम्प गएपछि भूकम्पपीडितलाई केही सहयोग पुरयाउने उद्देश्यले दीपशिखा खड्काले संस्था दर्ता गरी भूकम्पपीडित जनताको घरदैलोमा पुगेर विभिन्न सहयोग गर्दै आउनुभएको छ । फाउन्डेसनकी अध्यक्षसमेत रहनुभएकी खड्का भूकम्पमा परी धेरै नेपालीको मृत्यु तथा घाइते भएकाको स्मरण गर्दै आफ्नो सानो प्रयासले केही भए पनि राहत पुग्छ की भन्ने उद्देश्यले समाजसेवामा लागेको बताउनुहुन्छ । फाउन्डेसनले भूकम्पपीडित दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लामा रु २५ लाख बराबरको सामान वितरण गरिसकेको छ भने भूकम्पपीडित जनताका १० जना बच्चालाई निःशुल्क पढाउँदै आएको छ ।

‘लभ यु बाबा’का निर्देशक ८ वर्षीय विष्टले भूकम्पपीडित जनताका लागि आर्थिक सहयोग जुटाउन आफूले निर्देशन गरेको चलचित्रलाई रोजेकोमा फाउन्डेसनप्रति आभार प्रकट गर्नुभयो । उहाँले आफ्नो चलचित्रको च्यारिटी शो हेर्न पूर्व उपप्रधामन्त्री कोइरालाको उपस्थितिले आफूलाई साह्रै खुसी लागेको बताउनुभयो । सो कार्यक्रममा फाउन्डेसनलाई अगाडि बढाउन सुन्दर तामाङले पूर्वउपप्रधानमन्त्री कोइरालामार्फत फाउन्डेसनलाई रु एक लाख नगद सहयोग गर्नुभएको थियो ।

फाउन्डेसनका सल्लाहकार एवम् नेपाल विद्यार्थी सङ्घका नेता क्षितीज भण्डारीले भूकम्पपीडित जनताका लागि फाउन्डेसनले विभिन्न सहयोग गर्दै आएको भन्दै यो चलचित्रलाई विदेशमा समेत देखाउने तयारी भएकोे बताउनुभयो ।

च्यारिटी शो हेर्न नेवि सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्ण, चलचित्र सङ्घका अध्यक्ष रामकेशर बोगटी, गायक राजेशपाल राई, तेवान्दो खेलाडी दीपक विष्ट, क्रिकेट खेलाडी सोमपाल कामी, सगरमाथा आरोही फुर्वा तेन्जिङ लामा, कलाकार निर्मल शर्मालगायत सिटी सेन्टर पुग्नुभएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस