पोखरा, १५ जेठ –
भूकम्प प्रभावित बालकहरुको लागि शनिबार पोखराको रेडियो अन्नपुर्णमा फुटबल तथा जर्सी हस्तान्तरण गरीएको छ । जापानको सिनस्यु नेपाल फ्रेण्डसिप नामक संस्थाले गोर्खाका भूकम्प प्रभावित वालकहरुको लागि हिमालयन भोलेन्टरी सोसाईटी मार्फत पठाएको १० थान जर्सी र ८ थान फुटवल गोर्खाको द ओसन क्लवलाई हस्तान्तरण गरीएको हो ।
सोसाईटीका अध्यक्ष दिपकराज सुवेदी, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठ, सचिव दिननाथ बराल, सदस्य माधव बरालले उक्त खेल सामाग्रि गोर्खाको ओसन क्लवका अध्यक्ष अमित खत्रिलाई हस्तान्तरण गरेको पत्रकार आरजु विष्ट शल्यानीले बताए । यस अघि पनि सोसाईटी सहित विभिन्न दाताहरुबाट गोर्खाको उक्त क्लवलाई २२ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको विष्टले जनाए ।
फिफा विश्व कपमा अपिसियलले प्रयोग गर्ने गुणस्तरको उक्त फुटवल भएको सोसाईटीका अध्यक्ष सुवेदीले जनाए । जापानबाट ५-६ महिना अघि नै नेपाल पठाएको उक्त खेल सामाग्रि प्राविधिक कारणले गर्दा ढिलो आई पुगेको उनले जनाए । क्लवलाई गुणस्तरको खेल सामाग्रि प्राप्त भएकोले त्यसलाई सहि ढंगले प्रयोग गर्ने क्लवका अध्यक्ष खत्रीले बताए । क्लवमा हाल ८ देखि १५ बर्ष उमेर समुहका करीब २५ जना वालकहरु रहेको उनले जनाए ।





