एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ, १६ जेठ –

विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत १८९ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।

जिविस काठमाडौँले आज यहाँ जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरयो । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले नेपालको राजनीति, प्रशासन, व्यापारलगायत क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरु को वर्चस्व रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो–“विदेश गएर गर्ने दुःख अब नेपालमा नै गर्नुपर्छ । नेपाललाई समृद्ध बनाउने जिम्मेवारी युवाको काँधमा आएको छ ।”

प्रजिअ रामकृष्ण सुवेदीले सरकार र सामुदायिक विद्यालयको सहकार्यमा नै शैक्षिक गुणस्तर हासिल गर्न सकिने बताउनुभयो । स्थानीय विकास अधिकारी गोपालबहादुर अधिकारीले विगतमा सामुदायिक विद्यालयमा लगानी अत्यन्त न्यून भए पनि नतिजा उत्कृष्ट आएको स्मरण गर्दै अहिले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब उत्कृष्ट नतिजा ल्याउनुपर्नेमा जोड दिनुभयो । काठमाडौँमा मात्रै करिब तीन सय सामुदायिक विद्यालय रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button