जलेश्वर कारागारमा महामारी फैलने त्रास

गौशाला, २० जेठ –

महोत्तरी र धनुषा तथा केही दिनदेखि सर्लाही जिल्ला समेतको संयुक्त कारागार रहेको महोत्तरीको जलेश्वर कारागारमा महामारी फैलने त्रास बढेको छ ।

एक सय ५५ वर्ष पुरानो राणाकालीन अतिजीर्ण सो कागारमा ढल निकासको उचित व्यवस्था नभएकाले अहिले दैनिकजसो पर्ने गरेको वर्षाको पानीले निकास नपाउँदा सो कारागारमा रहेका कैदीबन्दीमा माहामारीको विभिन्न रोगको सङ्क्रमण हुने सम्भावना बढेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

चार सय दुई जना कैदीबन्दी रहेको सो कारागारका शौचालय, पिसाब घर तथा धारा लगायतका फोहर पानीबाहिर जान नसकेकाले कारागार भित्रका कैदीबन्दीलाई महामारीको समस्या हुन सक्ने जेलर ठाकुरले बताउनुभयो ।

जलेश्वरको सबैभन्दा गहिरो ठाउँमा रहेको यस कारागारको चारैतिरबाट बजारको मलमूत्र र फोहोरमैला पनि कारागारभित्रै पस्न थालेको तथा जलेश्वर नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि व्यवस्थापनमा चासो नदेखाएपछि भित्री र बाहिरी दुवै फोहरमैलाले कारागारभित्र महामारी फैलाउने खतरा बढेको जेलर ठाकुरले बताउनुभयो ।

बर्सेनि बर्खायाममा कारागारका कैदीबन्दीले फोहरपानीमै उभिएर खाना पकाउनु, खानु, नुहाउनु, सोही पानी भएर शौचालय जानु र कतिले पानीमै खाट राखेर सुत्नु परेकाले उनीहरुको जीवन जोखिममा रहेको उहाँले बताउनुभयो ।

जलेश्वर कारागारको समस्याबारे पटक–पटक कारागार व्यवस्थापन विभागलगायत सम्बन्धित सबै निकायमा लिखित र मौखिक अनुरोध गरे पनि अहिलेसम्म कुनै व्यवस्था नभएको र अहिले कैदीबन्दीको स्वास्थ्य नै जोमिखमा पर्न लागेकाले यस समस्यालाई मध्यनजर गर्दै यथाशीघ्र कुनै व्यवस्था मिलाउन जेलर ठाकुरले आग्रह गर्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button