काठमाडौँ, २० जेठ –
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशाला आज सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो – “सार्क क्षेत्रका जनताबीच पारस्परिक सम्बन्ध पढाउन द्विपक्षीय तथा बहुपक्षीय सहयोग विस्तार गर्न पनि ग्रामीण पर्यटन आधार हो ।” दक्षिण एसियामा ग्रामीण पर्यटनका विकासका प्रशस्त्र आधारहरु भएको उल्लेख गर्दै उहाँले यसक्षेत्रमा सांस्कृतिक, धार्मिक सम्पदा र ऐतिहासिकस्थल अपार रुपमा रहेको चर्चा गर्नु भयो । ग्रामीण पर्यटन विश्वमै वातावरणमैत्री हुनुका साथै गरिबी निवारणमा समेत सहयोग पुग्ने भएकाले निकै महत्वपूर्ण भएको मन्त्री पोखरेलको भनाइ थियो । उहाँले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घुमफिर वर्षका रुपमा घोषणा गरिसकेको र कार्बनविहीन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सार्क सचिवालयका निर्देशक रीता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका साथै पर्यटन प्रवद्र्धनमा आ–आफ्नो देशको अनुभव आदानप्रदानबाट थप अघि बढ्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको बताउनुभयो ।
कार्यशालामा सार्क राष्ट्रहरु नेपाल भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका दुई-दुई जनाको सहभागिता रहेको छ भने कार्यशालामा आ–आफ्नो देशमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयासका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
एकदिने कार्यशाला भए पनि शुक्रबार नेपालको घरबास पर्यटनको नमुना स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution