पोखरा, २१ जेठ-
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल शुक्रबार जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको लागि निस्किएको छ । भ्रमण टोलीलाई संघका कार्यवाहक अध्यक्ष प्रकाशदेव पालिखेले बिदाई गर्नुभयो ।
अन्नपूर्ण आरोहण दिवस अर्थात जुन ३ तारिख पारेर भ्रमणमा निस्केको प्रतिनिधीमण्डलले साताव्यापी भ्रमणको क्रममा विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँग पोखराको आन्तरिक पर्यटन प्रवद्र्धन, व्यवसायिक साझेदारी र निजी क्षेत्रका अनुभवहरु आदान प्रदान गर्ने महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । सन् १९५० को जुन ३ तारिखकै दिन फ्रान्सेली नागरिक मोरिस हर्जोक र लुइस ल्याकेनलले अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए । यो संसारकै आठ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो आरोहण थियो । प्रतिनिधीमण्डलले भ्रमणको क्रममा पश्चिमाञ्चल, मध्यमाञ्चल र सूदुर पश्चिमाञ्चलमा रहेका सुर्खेत, जुम्ला, कालिकोट, नेपालगञ्ज, बुटबल, पाल्पा र वालिङ उद्योग वाणिज्य संघहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेतृत्व गर्नुभएको प्रतिनिधीमण्डलमा द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्यहरु नारायण कोइराला, दामु अधिकारी, ईश्वर कर्माचार्य, पवनकुमार प्रजापति, अर्जुन पोखरेल, बलराम आचार्य, मोहनबाबु खड्का, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा, संघको मुखपत्र व्यापार पत्रिकाका सम्पादक वाशुदेव मिश्र सहभागी हुनुभएको छ । यस्ता अवलोकन भ्रमणको माध्यमबाट प्राप्त अनुभवलाई संघको सुदृढिकरण तथा सदस्यहरुको हितको लागि उपयोग गर्दै आइरहेको संघका कामु कार्यकारी निर्देशक वीरेन्द्रशंकर पालिखेले बताउनुभयो । संघका अध्यक्ष विन्दुकुमार थापाका अनुसार भ्रमण दलले पोखराको पर्यटनलाई सूदुरपश्चिमाञ्चलसँग जोड्नका लागि रारा तालसम्मको यात्रा तय गर्नेछ । रारा नेपालकै ठूलो ताल हो । फेवा र बेगनाससहित ८ वटा तालको सहर पोखरा आउने पर्यटकलाई रारा पठाउने तथा रारा क्षेत्र जाने पर्यटकलाई पोखरा अनि अन्नपूर्ण पदयात्रा मार्गमा ल्याउन सके नेपालको सबै भागको पर्यटन प्रवद्र्धन हुने उहाँको भनाइ रहेको छ ।
८ हजार ९१ मिटर उचाई रहेको संसारकै १० औँ अग्लो हिमाल अन्नपूर्णको काखमा रहेको पोखरा हिमाली सुन्दरताको दृष्यावलोकन, आरोहण र पदयात्राको लागि चर्चित रहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको सन्दर्भमा पर्यटकहरुको लागि पोखरा हव र नेपालका अन्य क्षेत्रलाई सब हवको रुपमा विकास गर्ने यहाँको निजी क्षेत्रको सोच रहेको छ । पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापना कालदेखि नै पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायिकरणको सहरको रुपमा विकास गर्ने अभियानको नेतृत्व गर्दै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution