
नेपालगन्ज, २१ जेठ –
सवारी साधनका लागि अति व्यस्त नेपालगन्ज–गुलरिया हुलाकी सडक सामान्य वर्षामा समेत हिलाम्य हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ ।
सो सडकखण्डको करिब एक किमी क्षेत्रमा खाल्डो परेका कारण महिनौँदेखि सवारी साधन र पैदल यात्रु जोखिम मोल्न बाध्य हुँदासमेत सम्बन्धित निकाय मौन देखिएको छ । सो सडकखण्डको त्यस क्षेत्रमा १५ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा आमाछोरीको घटनास्थलमा मृत्यु भएको थियो । स–साना दुर्घटनाका घटना त त्यहाँ दिनहुँ हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको ठीक अगाडिको सो हिलाम्मे र खाल्डो सडकखण्डका कारण प्रहरीको सुरक्षा गस्तीसमेत प्रभावित भएको छ । “सो सडकका कारण आफूहरु कार्यालयमा थुनिए भैmँ भएको छ, क्षणभरमा सुरक्षाका लागि पुग्नुपर्ने अवस्थामा सडकका कारण लामो बाटो हुँदै जानुपर्ने बाध्यता छ” – प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको दुःखेसो छ ।
नागार्जुन निर्माण कम्पनीले ठेक्का सकारेको सडक निर्माणको काम वर्षा सुरु भएसँगै थालिएकाले पनि सवारी साधन सञ्चालन र पैदल यात्रामा कन्तबिजोगको स्थिति सिर्जना भएको छ । अहिले हिलोले सडक ढल बनेको छ । पटान गरिएको माटो बगेपछि सडकको बिजोग भएको छ । डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर दीपेन्द्रबहादुर विष्टले हिलोका कारण हुलाकी सडक अवरुद्ध भएको बताउनुभयो ।
“सम्झौताअनुसार निर्माण गर्ने समय अझै बाँकी छ, तर हिलोका कारण सडक बन्द भएपछि ठेकेदार कम्पनीलाई निर्माणमा तीव्रता दिन पत्राचार गरेकाछौँ” – उहाँको भनाइ छ । रासस





