सरकार परिवर्तन चर्चा हल्ला मात्र – उपप्रधानमन्त्री थापा

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २१
सरकार परिवर्तन चर्चा हल्ला मात्र – उपप्रधानमन्त्री थापा

विराटनगर, २१ जेठ –

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सहमतिको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बारम्बार भन्दै आइरहेकाले त्यही प्रसङ्गलाई जोड्दै सरकार परिवर्तनको विषयमा बढी हल्ला र चर्चा परिचर्चा भइरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीसँग तत्कालीन एमाओवादी पार्टीसँग भएको तीनबुँदे वा भद्र सहमतिको विषयमा आफू र आफ्ना पार्टीलाई कुनै जानकारी नरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो – “प्रधानमन्त्रीजीले मन्त्रिपरिषद् र सार्वजनिकस्थलमा पटक पटक त्यस्तो सहमति नभएको सम्बन्धमा प्रष्टोेक्ति दिइसक्नुभएको छ ।”

मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई टिकाइराख्नु पर्ने धारणा राख्नु भयो । सरकार गठन भएको सात-आठ महिनामै सरकार परिवर्तन गरिहाल्नुपर्ने कुनै घरातलीय सङ्कट नदेखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो भयो भने संविधानको औचित्य र भविष्यमाथि प्रश्न खडा हुनसक्ने भएकाले माओवादी र काँग्रेसलगायत सबै दललाई यस्तो खेलमा नलाग्न आह्वान गर्नुभयो ।

बडो कठिनाइका साथ आठ वर्षको अवधिमा मुलुकले संविधान पाएको चर्चा गर्दै उहाँले सत्ताको फोहोरी खेल कायम रह्यो भने अन्तर्राष्ट्रिय जगत् र मुलुकका जनताबीच नकारात्मक सन्देश जाने विषयमा माओवादी र काँग्रेसलगायतका दललाई गम्भीर भएर सोच्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्थानीय निकायका साथै अन्य निर्वाचनका लागि पनि बजेटको व्यवस्था रहेकाले स्थानीय निकायको निर्वाचनका लागि सबै दललाई सकारात्मक हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले मेरो कारणले मधेसी मोर्चासँग वार्ता अवरुद्ध भएको छ भने आफु वार्ता समितिको संयोजकबाट राजीनामा गर्न तयार रहेको जानकारी गराउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस