सजिलो छैन जलविद्युत् आयोजनाका सुरुङभित्रका काम

रसुवा, २१ जेठ –

मुलुक ऊर्जा सङ्कटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । तर जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा सुविधा के कस्तो होला भन्नेबारेमा आम मान्छेलाई जानकारी छैन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विशेष गरी जलविद्युत् आयोजनाको सुरुङमार्गभित्र जोखिम मोलेर काम गर्ने मजदुरको दैनिकी असाध्यै कष्टकर रहन्छ । अक्सिजनको अभाव, निर्माण सामग्री आसोरपसार गर्दा आइपर्ने झन्झट पनि अर्को कठिन कार्यको रुपमा लिइने गरिन्छ ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको तल्लो सान्जेन जलविद्युत् आयोजनामा कार्यरत मजदुर भने मुलुकलाई उज्यालो पार्ने काममा आफूहरु संलग्न हुन पाउँदा अन्य कष्ट सामान्य लाग्ने गरेको बताउँछन् ।

tunnel 2

“चिममा बलेको उज्यालो हेर्दा लाग्छ, यो उज्यालोमा मेरो रगत पसिना छ, मेरो श्रम छ,” सान्जेनको सुरुङभित्र भेटिनु भएका दैलेखका लोकबहादुर खाणले रासससँग भन्नुभयो – “ काम जोखिम भए पनि आफूले गरेको कामप्रति गौरव लाग्छ । मुलुक बिजुलीको अभावमा छटपटाइरहेको बेला हामीले चाँडै काम सम्पन्न गरयौं भने केही मात्रामा भए पनि राहत हुन्थ्यो भन्ने लाग्छ ।” गत सालको गोरखा भूकम्पपछि सुरुङभित्र काम गर्दा भूकम्प आउँछ कि भन्ने डर उत्पन्न हुने गरेको खाणले बताउनुभयो । सोही जलविद्युत् आयोजनाको सुरुङभित्र भेटिनुभएका प्यूठानका टोपबहादुर योगी लोडर चलाउनुहुन्छ । यसअघि अपर माई, हेवा खोलामा काम गरेको अनुभव छ उहाँलाई । “खतरा मोलेर काम गर्दा कहिलेकाँही घरको याद आउँछ, तर रोजगारी पाइँदैन, सीप भए जलविद्युत् आयोजनामा काम पाउन समस्या छैन ” – योगीले भन्नुभयो ।

जमिनमुनि सुरुङमा काम गर्दा सजिलो नभए पनि मुलुकलाई ठूलो योगदान दिने काम गरिएको छ भन्ने भावना आम मजदुरमा छ । ठेकेदारले जोखिममा काम गर्ने मजदुरलाई सेवा सुविधा पनि राम्रै दिएका छन् ।

निर्माण व्यवसायीले आवश्यक परेको स्थानमा जुनसुकै मजदुरलाई पनि परिचालन गर्ने गरेका छन् । उनीहरु जहाँ लगेपनि खुसीका साथ काम गर्ने गरेका छन् । रसुवाकै लाक्पा गुम्बु पनि सुरुङमार्गमा काम गर्दा गर्दै भेटिनुभयो । “रोजगारी पाउनु नै महत्वपूर्ण विषय भएकाले कष्ट भए पनि काम गरिएको छ, दूरदराजमा विद्युत् बल्दा असाध्यै खुसी लाग्छ” – गुम्बुले भन्नुभयो ।

tunnel 3

कपिलवस्तुका रवीन्द्रप्रसाद पोखरेल सुरुङभित्र सबैभन्दा कठिन मानिएको ड्रिलिङको काम गर्नुहुन्छ । विगत १३ वर्षदेखि मुलुकका विभिन्न जलविद्युत् आयोजनामा काम गर्दैआउनु भएका पोखरेल पछिल्लो दुई वर्षदेखि सान्जेन जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएको छ ।

खिम्ती, झिमरुकलगायतका आयोजना सम्पन्न गरेको अनुभव छ पोखरेलसँग । “सुरुङभित्र काम गर्दा डर त लाग्छ तर आजभोलि अनुभव भएकाले त्यति गाह्रो लाग्दैन, सुरक्षात्मक उपाय अपनाइन्छ,” पोखरेलले भन्नुभयो ।

सान्जेन जलविद्युत् आयोजनाको दुईवटा परियोजना हाल निर्माणको क्रममा रहेको छ । कुल १४.८ मेगावाट क्षमताको सान्जेन र ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनमा हाल एक हजार बढी मजदुर विभिन्न काममा व्यस्त छन् । कोही कसैसँग बोल्ने फुर्सद समेत छैन । सुरुङभित्र उज्यालो र  हावाको अभाव रहन्छ ।

माथिल्लो सान्जेन जलविद्युत् आयोजना बज्रगुरु र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रमले निर्माण गरेको छ भने तल्लो सान्जेन तुदी निर्माण सेवा र भारतीय उपक्रमले निर्माण गरिरहेको परियोजना हो ।

निर्माण कम्पनीले आवश्यकताका आधारमा मजदुर परिचालन गर्ने गरेका छन् । बज्रगुरु निर्माण सेवाका प्रतिनिधि प्रणव खड्का जलविद्युत् आयोजना मुलुकको महत्वपूर्ण विषय भएकाले एक मिनेट पनि ढिला नगरिकन काम जारी रहेको बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button