पोखरा, २१ जेठ –
पर्यटकीय नगरी पोखरालाई विश्वव्यापी रुपमा पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हेर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । उक्त पहिलो आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको छ ।
अन्नपूर्णको सफल आरोहणसँगै समग्र नेपालको पर्यटन विकासमा समेत टेवा पुगेको र खासगरी पोखरालाई पर्यटकीय स्थलका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा चर्चामा पुरयाएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगण्य मात्र रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “फ्रान्सेली नागरिक मोरिस हेर्जोेगसहित अन्नपूर्ण हिमालको आरोहणका लागि आएको टोलीको पोखरा बसाइसँगै यहाँको पर्यटकीय विकासको औपचारिक सुरुवात भएको हो ।”
स्वर्गीय हेर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै पोखरेलले त्यसपछि मात्र नेपालका हिमालको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु भएको बताउनुभयो । अन्नपूर्ण हिमाल अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलका अनुसार संरक्षण क्षेत्रअन्तर्गत मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लम्जुङका आठवटा गाविस रहेका छन् । पदयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै भएको अन्नपूर्ण क्षेत्र विभिन्न पदयात्रीका लागि घरसमेत हो जसमा अन्नपूर्ण सर्किट रहेको छ । अन्नपूर्ण हिमालको आरोहणलार्ई विश्वमा नै कठिन आरोहणका रुपमा लिने गरिएको छ ।
अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कास्कीको ताङतिङ गाउँको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।
अन्नपूर्ण हिमालको काखमा रहेको नामार्जुङ गाविसमा पर्ने यो गाउँ पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको भन्दै यहाँ घरबास (होम स्टे) कार्यक्रम संस्थागत गराउन कार्यक्रम गर्न लागिएकोट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । शर्माका अनुसार कार्यक्रमअन्तर्गत आज पोखरेली पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोली उक्त गाउँमा पुगी पर्यटन प्रवद्र्धन र घरबास कार्यक्रम संस्थागत गराउनका लागि स्थानीयवासीसँग अन्तरक्रिया गर्नेछ ।
अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा आजै पर्यटन व्यवस्थापन उपसमिति घान्द्रुकले उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया गर्ने भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय घान्द्रुकका कार्यालय प्रमुख कुइँकेलले जानकारी गराउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution