विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध – सञ्चारमन्त्री

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २१
Post Thumbnail

धादिङ, २१ जेठ –

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान जारी भएपछिको पहिलो सरकार दलितका आधिकार सुनिश्चित गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जातीय छुवाछूत तथा भेदभावमुक्त राष्ट्रिय दिवसका अवसरमा संयुक्त दलित सङ्घर्ष समिति धादिङद्वारा धादिङबेँसीमा आज आयोजित बृहत् आमसभा तथा सांस्कृतिक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले सरकारका तर्फबाट त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री राईले २०६८ सालमा जारी जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय ऐन विपरीतको काम कसैले गर्छ भने त्यस्तालाई कारबाही गर्न प्रजिअलाई निर्देशनसमेत दिनुभयो । सरकारको आयुबारे भइरहेको टीकाटिप्पणी र अड्कलबाजीमा नलाग्न आग्रह गर्दै उहाँले संविधानअनुसारको नयाँ कानुन निर्माण गरी यही सरकारले स्थानीय निकायको प्रदेशसभा र व्यवस्थापिका–संसद्को निर्वाचनसमेत गराउने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीनबहादुर विश्वकर्मा, धादिङ क्षेत्र नं २ बाट निर्वाचित सांसद गुरुप्रसाद बुर्लाकोटीलगायतले २०६३ साल जेठ २१ गते मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरी २०६८ सालमा कडा कानुन बनाइए पनि छुवाछूत र जातीय विभेदको अन्त्य हुन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा धादिङका दलित आन्दोलनका अगुवालाई सम्मान गरियो । राष्ट्रिय ख्यातिप्राप्त कलाकार राधिका हमाल, राजु परियार लगायतका कलाकारले आआफ्नो कला प्रदर्शन गरेका थिए । जिल्लाभरिका दलित समुदायको सहभागितामा रयाली आयोजनासमेत गरिएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस