विधिपूर्वक मनाइदै वटसावित्री पर्व

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २२
विधिपूर्वक मनाइदै वटसावित्री पर्व

विराटनगर, २२ जेठ –

पतिको दीर्घायुको लागि आज मैथिलानी धार्मिक विधिपूर्वक वटसावित्री पर्व मनाइरहेका छन् ।

यस पर्वको अवसरमा विराटनगरको संसारीमाई स्थानलगायत मोरङ जिल्लाका विभिन्न ठाउँमा बिहानैदेखि महिला वरको रुखको पूजा गरेर पतिको दीर्घायुको कामना गरिरहेका छन् ।

वटअर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुको लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई वटसावित्री पर्व वा वरसाइत पर्व भन्ने गरिएको हो । हिन्दूधर्मको मान्यताअनुसार जेठ आमोवस्यामा वरको रुखमा ब्रह्मा, विष्णु र महेश बास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ ।

यस पर्वको अवसरमा विवाहिता बिहानैदेखि उपवासमा बसेर स्नान गरी नवबस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पङ्खा लिएर वरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, मद देशका राजा अश्वपतिकी छोरी सावित्रीको विवाह शाल्वदेशको द्युमत्ससेनको छोरा सत्यवानसँग विवाह भएको थियो । विवाह भएको केही दिनभित्रै सत्यवानको प्रभास क्षेत्रको एक जङ्गलमा निधन भयो । सावित्रीले मृत्युवरण गरिसकेका आफ्ना पति सत्यवानलाई आफ्ना बुद्धि र सतित्वको बलमा यमराजबाट पतिको जीवन फिर्ता ल्याएर दीघार्युको आशीर्वाद पनि प्राप्त गर्न सफल भएकी थिइन् ।

धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो ।यसका साथै खासगरी मैथिल ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिमा नवविवाहिता पहिलो पटकमा विशेष पूजापाठका साथै धुमधामका साथ यो पर्व मनाउने गर्छन् भने मैथिल जातिका विवाहिता पनि यस पर्वको शुभारम्भ गर्छन् ।

नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउनका लागि ससुरालीबाट नयाँ बस्त्रका साथै विभिन्न प्रकारका कोसेली र माटोको कलात्मक नाग, नागिन, गौँरी र बेहुला–बेहुलीको मूर्ति पठाउने गरिन्छ ।

सर्पको डसाइबाट जोगिने उद्देश्यका साथ नागनागिनको पनि पूजा गर्ने गरिन्छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस