फिल्मको सम्पूर्ण नाफा रकम सामाजिक क्षेत्रमा

पोखरा, २२ जेठ –

फिल्म व्यवसायिक सोँचसहित निर्माण हुन्छन् । प्रायजसो व्यवसाय नाफामुखि हुन्छ । भलै व्यावसाय नाफामा जाँदा त्यसका व्यवसायीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा सहयोगी हात पनि बढाउँछन् । यस्तै यहाँका एक फिल्म कम्पनीले नाफाको सम्पूर्ण रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने गरि काम अगाडि बढाएको छ ।

ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकले फिल्मको सम्पूर्ण नाफा रकम सामाजिक क्षेत्रको विकासका लागि सहयोग गर्ने भएको हो । निर्माण कम्पनीले पहिलोपटक बनाएको फिल्म ‘भ्रेँ’ले हालसम्म करिब पाँच लाख रुपैयाँ सामाजिक क्षेत्रमा सहयोग गरिसकेको छ । पछिल्लो पटक यो फिल्मको नाफा रकमको एक लाख १० रुपैयाँ घान्द्रुक २ स्थित फुलिबाङमा जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको पुर्ननिर्माणमा प्रदान गरेर निर्माण यूनिट फर्केको छ ।

निर्माण कम्पनीका निर्माता शरद गुरुङ (कालु)सहितको टोलीले फुलिबाङमै पुगेर त्यहाँको पुल निर्माण समितिको अध्यक्ष मिलन गुरुङलाई रकम हस्तान्तरण गरेको थियो । ‘हामीले फिल्म निर्माण गरेपछि उठेको सम्पूर्ण नाफा रकम आफैले प्रयोग गर्न पनि सक्थ्यौँ । तर आफ्नो गाऊँ ठाऊँको लागि केहि भएपनि सहयोग गरौँ भनेर हामीले सहयोग कोष खडा गरेका हौँ ।’ रकम हस्तान्तरण गरिसकेपछि निर्माता शरद गुरुङ (कालु)ले भने–‘बर्खा नजिकिँदै गर्दा जिर्ण रहेको पुल पुर्ननिर्माणको लागि सहयोग गर्न पाउँदा निकै खुशि लागेको छ ।’

बेलायतमा ‘भ्रेँ’ फिल्मको प्रदर्शनबाट उठेको रकम पुल पुर्ननिर्माणको लागि सहयोग उपलब्ध गराईएको निर्माण कम्पनीका व्यवस्थापक अमृत गुरुङ (लामा)ले बताए । बेलायतमा लोकमान गुरुङले फिल्म प्रदर्शनको सम्पूर्ण चाँजोपाँजो मिलाएका थिए । त्यहाँबाट उठेको रकम उनैले निर्माणकम्पनीको जिम्मा लगाएका थिए । त्यहि रकम फुलिबाङको पुल पुर्ननिर्माणका लागि गाउँलेलाई निर्माण कम्पनीले उपलब्ध गराएको हो ।

करिब ३५ वर्ष अगाडि निर्माण भएको पुलमा काठ बिच्छाईएको छ । ७ वर्ष अगाडि बिच्छाईएका काठ पुरै फाटेका छन् । ‘पुल जिर्ण हुँदा पैदलयात्र ीहरुले जोखिम मोलिरहेका थिए । अब पुल पुर्ननिर्माणपछि केहि वर्ष पैदलयात्रीका लागि राहत हुनेछ ।’ पुल निर्माण समितिका अध्यक्ष मिलन गुरुङले भने । उनले सहयोग गर्ने फिल्म निर्माण कम्पनीलाई पनि धन्यबाद दिए । फुलिबाङको ज्यामे खोलामाथि रहेको पुल हुँदै दाङसिङ मोहरिया, भुका, ताङ्ले, साबेक, उल्लेरी, हिले सम्म पुगिन्छ ।

ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकका केहि युवाहरु मिलेर स्थापना गरेका हुन् । शरद गुरुङ (कालु)सँगै यो कम्पनीमा जापानमा रहँदै आएका युक्तमान गुरुङ, यूकेमा रहँदै आएका स्वर्ग गुरुङ र हङकङमा रहँदै आएकी मुना गुरुङको लगानी रहेको छ । पहिलो फिल्म भ्रेँ मा यो कम्पनीले २५ लाख रुपैयाँ लगानी गरेको थियो । फिल्म हालसम्म हङकङ, यूके, क्यानडा, जापान, अमेरिका, अष्ट्रेलिया लगाएतका मुलुकमा प्रदर्शन भैसकेको छ । नेपालको हकमा यो फिल्म पोखरा र घान्द्रुकका विभिन्न स्थानमा प्रदर्शन भैसकेको छ ।

लगानी गरेको रकम बाहेक नाफा रकम कम्पनीले घान्द्रुक समाज हङकङ, बे्रँज मेश्रो घान्द्रुक समाज पोखरासँगै भूकम्प पीडितहरुको लागि राहत वितरण गरेको छ । ‘नाफा रकममध्ये अझै पाँच लाख रुपैयाँ कोषमा छ । र, त्यो रकम घान्द्रुकको रोधीं क्लबको भवन निर्माणार्थ सहयोग गर्ने हामीले तय गरिसकेका छौँ ।’ कम्पनीका व्यवस्थापक अमृत गुरुङ (लामा)ले भने ।

ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकबाट बनेको फिल्म ‘भ्रेँ’ आगामी जुन २६ मा दोस्रोपटक हङकङमा प्रदर्शन हुने कम्पनीले जनाएको छ । सोहि दिन फिल्मको डिभिडि पनि विमोचन हुनेछ । फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । विमल गुरुङ र रजनी गुरुङले अभिनय गरेको फिल्मलाई सन्तोष कोन्मेले खिचेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button