चेपाङ बालबालिका कुपोषणको सिकार

मलेखु (धादिङ), २२ जेठ –

भूकम्पपछि चेपाङ बालबालिका कुपोषणको सिकार भएका छन् । दक्षिणी धादिङको महादेवस्थान गाविसका चेपाङ समुदायको बालबालिका कुपोषणको सिकार भएका हुन् ।

उत्तरी धादिङको महादेवस्थान गाविस– ३ का चेपाङहरुको बालबालिकाले खान नपाएपछि कुपोषणको सिकार भएको जिल्ला अस्पतालले जनाएको छ । गतसाता चार बालबालिकालाई उद्धार गरी जिल्ला अस्पतालमा उपचार गरिएको थियो । इन्टरनेसनल मेडिकल कर्पस्को सहयोगमा सामाजिक विकास तथा प्रवद्र्धन केन्द्रले ती शीघ्र कुपोषण भएका बालबालिकालाई उपचारको व्यवस्था मिलाएको थियो ।

यस क्षेत्रको चेपाङबस्तीमा हाल खाने अन्न नभएर सिस्नो वा खोले खाएर मानिसहरु बसिरहेका छन् भने ज्याला गर्न घर बाहिर गएकाहरु घर नआएकाले घरमा खानेकुराको चरम अभावका कारण खाद्य सङ्कट परेको महादेवस्थानका टेकबहादुर चेपाङले बताए ।

भूकम्पले भएको घर लडेर बनाइएको छाप्रोभित्र आगो बालिएको छ । एउटा गुन्द्री वा चकटीमात्र उपलब्ध छ । लगाउने लुगा नभएपछि उनीहरु नाङ्गै बस्छन् । उद्धारका लागि गएकी सामाजिक विकास तथा प्रवद्र्धन केन्द्रकी पुजा गुभाजुले उनीहरुको अवस्था दयनीय भएको बताउनु भयो । छजना बालबालिकाको उपचारपछि घर फकिएलगत्तै तीनजना बालबालिकालाई महादेवस्थान गाविसबाट पुनःउद्धार गरी उपचार केन्द्रमा ल्याइएको र उपचार सुरु गरिएको गुुभाजुले जानकारी दिनुभयो ।

महादेवस्थान गाविसमा केही समयअघि गरिएको एक अध्ययन अनुसार ४६५ घरधुरी चेपाङ समुदायको घर रहेकोमा ८४ जना बालबालिका कुपोषणको सिकिस्त सिकार भएका छन् भने अन्य १५२ जना बालबालिका कुपोषण भएको अवस्थामा फेला परेका थिए । महादेवस्थान गाविसको १, २, ३ र ७ न.वडामा बसोवास गर्ने चेपाङ समुदायका बालबालिकामा बढी कुपोषणको समस्या देखिएको अध्ययनले देखाएको छ ।

महादेवस्थान गाविस– ३ को ब्रुसबाङमा मानिस हालका दिनमा घाँस खाएर बसिरहेका छन् भने सरकारले सो गाउँमा सञ्चालन गरिरहेको गरिबी निवारण कार्यक्रमबारे गाउँवासीलाई केही जानकारीसमेत नभएको गाउँका टेकबहादुर चेपाङको भनाइ छ । महादेवस्थान गाविस– ३ की विष्णुमाया चेपाङले साँझपख सिस्नु टिप्दै गर्दा गाउँवासीको सबैको समस्या भनेकै बिहानबेलुका के खाने भन्ने मात्र रहेको र आफूहरु बाँच्नका लागि सङ्घर्ष गरिरहेको बताइन् ।

गाउँका बालबालिका विद्यालय छाडेर खाने कुराको खोजीमा दिनभर जङ्गलतिर भौतारिनु परिरहेको अवस्था रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button