
काठमाडौँ, २३ जेठ –
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संरक्षणका हाम्रा प्रयासहरु खेर नगए पनि पर्याप्त छैनन् ।”

उहाँले कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको धारणा राख्नुभयो । सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “वनस्पति र जीव भएको यो सुन्दर ग्रह पुथ्वी भविष्यमा जीवनरहित नहोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।”
कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएको-नभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिनुभयो ।
वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण संरक्षणलाई दिवससँग मात्र नजोडेर दैनिक जीवनसँग गाँसेर हेर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका निमित्त नेपाल निर्देशक सोफी केम्खाद्जे र त्रिभुवन विश्वविद्यालयका प्राडा रामप्रसाद चौधरीले वातावरण संरक्षणका लागि गर्नुपर्ने काम र जलवायु परिवर्तनबाट हुने नकारात्मक असरबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा वातावरण संरक्षणमा योगदान पु¥याउने व्यक्ति र सङ्घसंस्थालाई पुरस्कृत गरिएको थियो । राष्ट्र सङ्घको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवसका रुपमा मनाइँदै आइएको छ । रासस





