
सोलुखुम्बु, २३ जेठ –
सगरमाथा आधार शिविरमा सङ्कलित दिसापिसाब स्थानीय लवुचेमा व्यवस्थापन गर्न थालिएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०का उपाध्यक्ष लामाकाजी शेर्पाले यस वर्षको सगरमाथा आरोहणको समय सकिएसँगै फोहर व्यवस्थापक आधार शिविरमा सङ्कलित दिसापिसाब व्यवस्थापन गर्न व्यस्त भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष सगरमाथा आरोहणका समयमा चार टन दिसापिसाब जम्मा भएको छ । आधार शिविरमा जम्मा भएको दिसापिसाब लवुजेको पाखामा ल्याएर गाड्न थालिएको एसपिसिसीले जनाएको छ । आधार शिविरमा बनाइएका अस्थायी शौचालयका दिशापिसाब सङ्कलन गरिएको हो ।
आधार शिविर फोहर हुँदा वातावरणीय प्रदूषण हुने भएकाले आधारशिविरमा जथाभावी पिसाब गर्न पाइँदैन । नेपालका नदी तथा पानीको मुख्य स्रोत नै हिउँ भएकाले आधार शिविरमा खुल्ला रुपमा दिसापिसाब गरेमा पानीको स्रोत नै फोहर हुने भएकाले ड्रममा दिसापिसाब गर्ने व्यवस्था गरिएको एसपिसिसीका उपाध्यक्ष शेर्पाको भनाइ छ । रासस





