प्रहरीले पोखरा आउने पर्यटकको तथ्यांक राख्न सघाउने

पोखरा, २४ जेठ –

पोखरालाई पर्यटनको राजधानी दाबी गरिए पनि यहाँ आउने पर्यटकको यकिन तथ्यांक नभई रहेको अबस्थामा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले त्यस्तो तथ्यांक संकलनमा सघाउने भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले क्षेत्रीय ट्राफिक प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीसँग सोमबार पोखरामा गरेको छलफल कार्यक्रममा अधिकारीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ । संघका अध्यक्ष भरतराज पराजुलीले पोखरा आउने पर्यटकको तथ्यांक नहुनु दुर्भाग्य भएको कार्यक्रममा बताएपछि अधिकारीका तर्फबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जनाइएको छ । ट्राफिक प्रहरीले पोखराको छोरेपाटन र लेखनाथ स्थित डाँडाको नाक प्रहरी चौकीमा विदेशी पर्यटकको तथ्यांक राख्ने भएको संघका अध्यक्ष पराजुलीले बताए । खासमा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले त्यस्तो तथ्यांक राख्ने प्रतिबद्धता यसअघि नै जनाए पनि व्यबहारमा भने त्यो कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक तथ्यांक राख्ने कार्य व्यवहारमै लागू हुनेमा आफूहरु विश्वस्त रहेको पराजुलीले बताए ।

pokhara tourism 2

पोखरा आउने पर्यटककको तथ्यांक पर्यटन कार्यालय पोखराले राख्ने गरेकोमा विगत केही वर्षदेखि कार्यालयले त्यस्तो तथ्यांक राख्न छाडेको छ । नेपाल पर्यटन बोर्डले समेत यस सम्बन्धमा कुनै पहल गरेको छैन । नत पर्यटनको छाता संस्था भनिने पोखरा पर्यटन परिषद्ले नै त्यस्तो काम गर्न सकेको छ । यी सबै बेथितिका विच ट्राफिक प्रहरीका तर्फबाट तथ्यांक राख्ने प्रतिबद्धता आउनु सकारात्मक भएको संघले जनाएको छ ।

पर्यटकको सही तथ्यांक नहुँदा पर्यटन सम्बन्धी योजना बनाउन, उनीहरुका लागि आबश्यक रेष्टुराँ तथा वातावरण र रुचि अनुसारका सुविधा तथा पूर्वाधार हँचुवाको भरमा अगाडि बढाउन व्यवसायी बाध्य हुँदै आएका छन् । पर्यटकको सही तथ्यांकले त्यस्तो अन्योल अन्त्य गर्ने विश्वास गरिएको छ ।

यसैगरी छलफल कार्यक्रममा दक्षिणी सिमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक र तिनका गाडिलाई सरल ढंगले प्रवेशको व्यवस्था मिलाउने, उनीहरुलाई केही समस्या परे सहजिकरण गर्ने र मिठो बोलीसँगै नरम व्यवहार प्रदर्शन गर्ने विषयमा समेत क्षेत्रीय ट्राफिक प्रमुख अधिकारीले प्रतिबद्धता जनाएको संघले जनाएको छ । यस्तो काम स्थानीय पर्यटन संघसंस्था र आबश्यक पर्दा स्वयं पश्चिमाञ्चल होटल संघ पोखरासँग समन्वय गरेर अगाढि बढाउने विषयमा समेत छलफल भएको संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

नेपालमा भारतीय सवारी रहन पाउने अबधि सकिएमा सहज नविकरणको व्यवस्था मिलाउने तथा दुर्घटना लगायत अन्य समस्यामा विमाको व्यवस्था आकर्षित हुने भए सहज ढंगले प्रक्रिया अगाडि बढाउन सहयोग पुर्याउने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।

चलिए पोखरा अभियान लिएर उत्तर भारतका विभिन्न शहरमा पश्चिमाञ्चल होटल संघ पुगेर अन्तरक्रिया कार्यक्रम गर्दा भारतीय पर्यटकबाट उल्लेखित विषयमा थुप्रै गुनासा आएपछि त्यस्ता गुनासा सम्बोधन गर्ने कदमतर्फ संघ र प्रहरी सक्रिय हुन लागेको अध्यक्ष पराजुलीले बताए । यसैगरी पश्चिमाञ्चलका विभिन्न जिल्लामा ट्राफिक सम्बन्धि व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन समेत क्षेत्रीय ट्राफिकले आफ्ना काम निरन्तर अगाडि बढाइरहेको अधिकारीले सुनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button