पाँच वर्षमा ५६ वटा गौरीगाई थपिए

रत्ननगर (चितवन), २५ जेठ –

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरीगाईको सङख्या बढेको पाइएको छ ।

हालै गरेको गणनामा निकुञ्जमा ५६ वटा गौरीगाई बढेको पाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । पाँच वर्षपछि यहाँ गौरीगाईको गणना भएको हो । उहाँका अनुसार सन् २०११ को गणनामा निकुञ्जमा ३१२ वटा गौरीगाई थिए । अहिले बढेर सङ्ख्या ३६८ पुगेको अर्यालले जानकारी दिनुभयो । हालै सम्पन्न गणनाको तथ्याङ्कबारे जानकारी दिँदै अर्यालले ११५ वटा भाले र १४८ वटा पोथी पाइएको जानकारी दिनुभयो । यस्तै लिङ्ग नछुट्टिएकामा वयस्क गौरीगाई ७२ वटा र ३३ वटा बच्चा फेला परेको उहाँले जानकारी दिनुभयो ।

गौरीगाईको अवस्था पत्ता लगाई संरक्षणमा नयाँ रणनीति निर्माण गर्ने लक्ष्यसहित गएको वैशाखदेखि गौरीगाई गणना सुरु भएको थियो । नितान्त आँखाले हेरेर ‘हेड काउन्ट’ विधिबाट गणना गरिएको थियो । गाई पाउने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरी १३० जना कर्मचारी र प्राविधिक खटाएर निकुञ्जले गाईको गणना गरेको हो । गणनामा २४ वटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अर्यालले जानकारी दिनुभयो । दुई वटा ब्लकमा हात्ती जान नसक्ने भएकाले हिँडेरै गणना गरिएको थियो । अहिले वासस्थान राम्रो भएकाले सङ्ख्या बढेको र वयस्क तथा बच्चाबच्ची राम्रो पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

मुख्यगरी गौरीगाईहरु साल भएको अलि अग्लो तथा चुरे क्षेत्रमा बस्न रुचाउँछन् । खोरेतको डरले पानीको स्रोतभन्दा सुख्खा ठाउँ तिनीहरुको रोजाइ हो । यस पटक चुरेलाई केन्द्र मानेर गणना भएको थियो ।

“स्विप सर्च गरेर हेड काउन्ट मार्फत गणना भयो, बथानमा हिँड्ने भएकाले काउन्ट गर्न सजिलो भो” – निकुञ्जका सूचना अधिकारी अर्यालले भन्नुभयो । चोरी सिकार हुन नपाएको र बाघको आहाराका रुपमा चित्तल, मृगहरु प्रशस्त भएकाले पनि यसको सङ्ख्या राम्रो रहेको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा बाघ, गैँडा, हात्ती, गौरीगाई, चरा, भालु, चित्तल, गोहीलगायत हेर्न पर्यटकहरु आउने गर्दछन् । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button