पोखरा, २६ जेठ –
विभिन्न २६ बुँदे मागसहित आन्दोलनरत सङ्घीय गठबन्धनको काठमाडौँमा आयोजित रिले अनशनलाई ऐक्यबद्धता जनाउँदै तमुवान संयुक्त सङ्घर्ष समितिले मङ्गलबारदेखि पोखरामा अनशन सुरु गरेको छ ।
पहिलो दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा बसेको रिले अनशनमा नौ जना सहभागी हुनुभएको तमुवान सङ्घर्ष समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।
पहिचान सहितको सङ्घीयता, पहिचान र अधिकारको सुनिश्चितता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषिक समानता, सबै खाले विभेद र उत्पीडनको अन्त्य, कालोबजारी तथा भ्रष्टाचारीलाई कारबाही, भूकम्पपीडितलाई तत्काल राहतको व्यवस्था लगायतका विभिन्न मागसहित जारी रिले अनशन एक हप्तासम्म रहने उहाँले बताउनुभयो । रासस