लाङटाङमा खोज उत्खनन जारी

धुन्चे (रसुवा), २६ जेठ –

भूकम्पका कारण पुरिएको लाङटाङ गाउँमा हराएका मानिसको खोज तथा उत्खनन कार्य जारी रहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणका गणपतिलगायत अधिकृत एवम् जवानले खोज तथा उत्खनन कार्यलाई जारी राख्दै स्थानीय सामाजिक कार्यमा समेत योगदान दिएका छन् ।

विसं २०७२ वैशाख १२ को भूकम्पले पृथ्वी हल्लाउँदा समुन्द्री सतहदेखि छ हजार दुईसय मिटरको उचाइको लाङटाङ लिरुङ हिमालको बेस क्याम्पमा अवस्थित पेवक्षे ताल फुट्दा आएको पहिरोले पुरिएको लाङटाङ भित्रको लाङटाङ गाउँ बस्तीमा नेपाली सेनाले उत्खनन र खोज उद्धार कार्य जारी राखेको स्थानीय बासिन्दाले बताएका छन् ।

लाङटाङमा स्थानीयवासीलगायत विदेशीसमेत ठूलो सङ्ख्यामा पुरिएका र अझै असीभन्दा बढी मानिस फेला पार्न बाँकी रहेको प्रहरीले जनाएको छ । नेपाली सेनाले खोज उत्खननका साथै माथिल्लो लाङटाङ र मुण्डु लगायतका क्षेत्रमा भूकम्पले घर भत्काउँदा भग्नावशेष भएका स्थानको ढुङ्गा तथा पुरानो काठको व्यवस्थापन, बसोबासका आवास एवम् भूकम्पपछि एकल भएका महिलाको आवास तथा भान्छा निर्माण र सरसफाइ समेतका विभिन्न निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याएको लाङटाङ व्यवस्थापन एवम् पुनःनिर्माण समितिका उपाध्यक्ष सुप्पा तामाङले बताउनुभयो ।

लाङटाङ, थाङसाप, मुण्डु, घोडा तबेला लगायतका क्षेत्रमा स्थानीय र पर्यटक हिँड्ने पदमार्गसमेत मर्मतसम्भार गरी लाङटाङवासीको सहज जीवनयापनमा नेपाली सेनाले गरेको योगदान अतुलनीय भएबाट गाउँवासी अत्यन्तै हर्षित भएको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यस्तै, विपद्को घडीलाई सहजतातर्फ उन्मुख गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा विगत लामो समयदेखि सहकार्य गर्दै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफले उज्यालो कार्यक्रमअन्तर्गत ११६ घरलाई प्रतिपरिवार छओटा बत्ती बल्ने २०-२० वाट क्षमताको सौर्य ऊर्जा, घरभित्र तातो बनाउने फलामे र खाना पकाउने ग्यास चुलोसमेत सहयोगस्वरुप प्रदान गरिएको आयोजनाका कार्यक्रम प्रबन्धक गौतम पौडेलले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button