खोपका लागि विश्व स्वास्थ्य सङ्गठनमा अपिल

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३१
खोपका लागि विश्व स्वास्थ्य सङ्गठनमा अपिल

काठमाडौँ, ३१ जेठ –

भूकम्प प्रभावित जिल्लामा हैजा फैलन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनमा हैजाविरुद्धको खोपका लागि अपिल गरेको छ ।

महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले एक हप्ताअघि नेपालमा हैजाविरुद्धको खोप उपलब्ध गराइदिन आफूहरुले सङ्गठनमा अनुरोध पत्र पठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प प्रभावित जिल्लामा खानेपानीका पाइप फुटेर, खानेपानीका मुहान वरिपरि फोहर हुँदा हैजा फैलने खतरा भएकाले त्यसका लागि बच्ने उपाय गरे पनि खोपको पनि आवश्यकता भएकाले सङ्गठनलाई खोपका लागि दरखास्त दिएका छौँ ।” तर त्यसको जवाफ भने अझैसम्म नआएको उहाँले बताउनुभयो । उहाँले अति प्रभावित १४ जिल्लामा दुषित पानीजन्य रोग झाडापखाला, आउँ, टाइफाइडलगायतका रोग देखिएको बताउनुभयो । तर, अन्य रोगको तुलनामा हैजा प्रमुख भएकाले यसको प्रकोप रोक्न गाह्रो पर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अन्य रोगको प्रकोप नियन्त्रण गर्न अलि सजिलो छ । हैजा लागेमा मानिसको छ घन्टामा मृत्यु हुने भएकाले यसको प्रकोप रोक्न खोपको आवश्यकता परेको हो ।” गत वर्ष पनि महाशाखाले रौतहट र नुवाकोट जिल्लामा खोप लगाएको थियो । यो खोप एक महिनाको अन्तरमा दुई पटक गरी खाएमा डोज पूरा हुने डा मरासिनीले जानकारी दिनुभयो ।

त्यसबाहेक अति प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई हैजाको रोकथाम र त्यसका लागि अपनाउनुपर्ने उपायका लागि तालिम दिइएको र औषधिको व्यवस्था गरिएको महाशाखाले जनाएको छ । उमालेको पानीमात्र पिउन र सरसफाइमा ध्यान दिनसकेमा हैजाको जोखिमबाट बच्न सकिने चिकित्सक बताउँछन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस