सुदूरपश्चिमका छयासी हजार घरपरिवार गरिब

  • पोखरा न्यूज
  • २०७३ अषाढ २
Post Thumbnail

पोखरान्युज, २ असार –

सरकारले सङ्कलन गरेको गरिब घरपरिवारको तथ्याङ्कअनुसार सुदूरपश्चिमका चार जिल्लामा ८६ हजार बढी घरपरिवार गरिबको सूचीमा रहेका छन् ।

तथ्याङ्कअनुसार सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम र कैलालीमा ८६ हजार ३८६ गरिब घरपरिवार पहिचान भएका हुन् । देशभरिमै बाजुरामा सबैभन्दा बढी गरिब परिवार रहेको तथ्याङ्कले देखाएको छ । बाजुराको गरिबी दर ६४ दशमलब १ तथा बझाङ्मा ५६ दशमलब ८ रहेको छ ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका नायब सुब्बा डम्बरध्वज अवस्थीका अनुसार तथ्याङ्क सङ्कलनका क्रममा कोही गरिब घरपरिवार छुट्न गए वा गैरगरिब सूचीमा परेको पाइएमा उजुरी दिन आह्वान गरिएको छ । बाजुरामा असार १६ गतेसम्म र अछाममा असार १९ गतेसम्म उजुरी दिन सकिने छ । बझाङ र कैलालीमा केही दिनभित्रै उजुरीका लागि आह्वान गरिने अवस्थीको भनाइ छ ।

लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सरकारले २०७० वैशाखदेखि मुलुकका २५ जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो । आगामी वर्षदेखि गरिब घरपरिवारको नामावली सार्वजनिक तथा परिचयपत्र वितरणको काम हुने बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस