कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

पोखरान्युजडटकम, २ असार –

नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ । जिल्लामा मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डा बिक्रीबाट रु पाँच अर्ब ९१ करोड सात लाख छ हजार, चल्ला बिक्रीबाट रु दुई अर्ब सात करोड ६९ लाख ७० हजार तथा मल बिक्रीबाट रु २१ करोड ३९ लाख ७३ हजार आम्दानी भएको छ ।

नेपालमा व्यावसायिक कुखुरापालनमा कुल लगानी रु दुई खर्ब ७८ अर्ब ५३ करोड ८० लाख रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये ठूलो हिस्सा बैंक र वित्तीय संस्थाको ऋण रहेको छ । सञ्चालनमा रहेको व्यावसायिक कुखुरापालन गर्ने कृषकमध्ये चितवनका ५० प्रतिशत फार्मले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको जनाएको तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ ।

देशका ६४ जिल्लाका २१ हजार ९५६ फार्ममा कृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जसमध्ये चितवन जिल्लामा मात्र एक हजार ९२३ फार्म सञ्चालनमा छन् । व्यावसायिक कुखुरापालनलाई प्रदेशगत रुपमा छुट्याउँदा सबैभन्दा बढी प्रदेश नं ३ मा ३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं ७ मा ५ प्रतिशत रहेको छ । चितवनमा मात्र यसको प्रतिशत नौ रहेको छ ।

तथ्याङ्कअनुसार गत एक वर्षमा ती फार्मबाट छ करोड आठ लाख २६ हजार ८८० कुखुरा पालिएको देखिएको छ । यसमध्ये ९९ लाख ८० हजार १५३ चितवनमा पालिएको छ । देशभरबाट मासुका लागि एक लाख १४ हजार ५८ मेट्रिक टन जिउँदो कुखुरा उत्पादन गरेको तथ्याङ्कले देखाएको छ । जसमध्ये एक लाख १० हजार ६९० मेट्रिक टन ब्रोइलर, तीन हजार १६७ मेट्रिक टन लेयर्स तथा प्यारेन्ट र २०१ मेट्रिक टन अन्य कुखुरा उत्पादन भएको छ ।

चितवनमा १२ हजार ९१ मेट्रिक टन अर्थात १० दशमलव ६ प्रतिशत मासु उत्पादन गरेको अनुमान छ । प्रतिव्यक्ति ४ दशमलव एक किलो जिउँदो कुखुराको मासु पुगेको देखिन्छ । विकसित मुलुकमा प्रतिव्यक्ति १५ किलो मासु वर्षमा प्रयोग हुने गरेको बताइएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा वर्षमा एक अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने गरेको छ । जसमध्ये चितवनमा मात्र ८१ करोड १९ लाख एक हजार वटा अन्डा उत्पादन भएको छ । यो कुल उत्पादनको ६८ प्रतिशत हो । नेपालमा व्यावसायिक कुखुरापालनबाट उत्पादन भएको अन्डालाई हेर्दा प्रतिव्यक्ति प्रतिवर्ष ४४ वटा अन्डा पर्दछ ।

नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार अन्डा इन्क्युबेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको पाइएको छ । जसमध्ये चितवनमा मात्र करिब पाँच करोड चल्ला उत्पादन भएको छ । यो देशकै करिब ६० प्रतिशत हुन आउँछ । यस व्यवसायले रोजगारीमा समेत ठूलो टेवा पुरयाएको तथ्याङ्कले देखाएको छ । जसमा तलब ज्याला नलिने सञ्चालक र स्थायी कामदार ५५ हजार आठ सय ६१ छन् भने अस्थायी काम गर्ने ३८ हजार एक सय ५७ जना रहेका छन् ।

व्यावसायिक कुखुरापालनको हिसाबले चितवनले ८.७ प्रतिशत, काभ्रेपलान्चोकले ४.९, सुनसरीले ४.८, दाङले ४.५ र धादिङले ४.२ हिस्सा ओगटेको छ । तथ्याङ्क सार्वजनिक कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बुद्धिकुमार कार्की, उपसचिव केशवप्रसाद प्रसार्इं, पशु चिकित्सक डा सुकेश सिंहलगायतको उपस्थिति रहेको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button