हिमपात हुँदा लुटपाटमा घाइतेको उद्धार हुन सकेन

 

पोखरान्युजडटकम, ३ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara

मङ्गलबार राति मुगु गाविसको यार्सा पाइने हिमाली पाटन क्षेत्र छु गोल्डुङ्ग भन्ने स्थानमा हतियारसहित लुटपाट गर्न आएको डाँकाको समूहले आक्रमण गर्दा घाइते भएका यार्सा सङ्कलकको उद्धारमा गएको हेलिकप्टर प्रतिकूल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ ।

बिहीबार बेलुकी ५ बजे घटनास्थलतर्फ उद्धारका लागि पठाइएको सिम्रिक एअरको हेलिकप्टर सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस क्याम्प रहेको ठूलो कोइकी भन्ने स्थानमा पुगे पनि त्योभन्दा माथि हिमपात भइरहेकाले हेलिकप्टर घटनास्थल जान नसकी फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।

फर्किएको हेलिकप्टर बिहीबार साँझ नै हुम्लाको सिमीकोट गएको र शुक्रवार बिहान पुनः उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर पठाइने तयारी भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

मुगु गाविसबाट आठ घन्टा टाढा रहेको पूर्वी उत्तर क्षेत्रमा डाँकाले मङ्गलबार राति ११ बजे सङ्कलकका पालमा गएर लुटपाट मच्चाएको र त्यसक्रममा सङ्कलक सर्वसाधारणले प्रतिकार गर्न खोज्दा डाँका समुहले गोली चलाउँदा मुगु जिल्ला माँग्री–५ निवासी कार्मा आँग्याल लामाको मृत्यु भएको प्रहरी जनाएको थियो । सोही क्रममा घाइते भएका माँग्री–५ का २४ वर्षीय कार्मा तार्के लामा, २८ वर्षीय पेमा नोर्बु लामा र २४ वर्षीय कार्मा नोरगेल लामालाई हुम्लाबाट आएको सिम्रिक एअरको हेलिकप्टरले उद्धार गर्न खोजेपनि उद्धार कार्य असफल भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रजिअ र हुम्ला जिल्ला प्रशासन कार्यालयको पहलमा घाइतेको उद्धारको प्रयास गरिएको थियो । आक्रमणमा भाग दौड मच्चिँदा दर्जनौँ सङ्कलकलाई चोटपटक लागेको बताइएको छ । घाइतेमध्ये कार्माको पाखुरा र तिघ्रामा गम्भीर चोट लागेको छ भने पेमाको टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । डाँकाको गोलीबाट मृत्यु भएका आँग्यालको शवपरीक्षणका लागि जिल्ला अस्पताल मुगुका डाक्टर रत्न सुनार हेलिकप्टरमा घटनास्थल गएपनि प्रतिकूल मौसमका कारण हेलिकप्टरसँगै सदरमुकाम गमगढी फर्किएका छन् । डाँकाले यार्सा सङ्कलकबाट कति परिमाणमा यार्सा र रकम लुटे भन्ने तथ्याङ्क आउन सकेको छैन ।

हिमालमा नेपाल प्रहरीको सञ्चार उपकरणले काम गर्न नसकेपछि जिल्लासँग सञ्चार सम्बन्ध जोड्न निकै कठिनाइ उत्पन्न भएको छ । सञ्चार सम्पर्क हुन नसकेपछि हिमालमा खटिएको सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बल त्रिपुरागण, कोहलपुरमा सञ्चार सम्पर्क गरी कोहलपुरले जिल्ला प्रहरी कार्यालय मुगुलाई सूचना दिने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि, २०७१ सालमा यार्सा खरिद गर्न आएका व्यापारीबाट हतियारधारी डाँका समूहले मुगु गाविसकै हिमाली क्षेत्र थाङ्गच्या भन्ने स्थानमा रु दुई करोड र गत वर्ष तिब्बतमा यार्सा बेचेर नेपाल फर्कदै गरेका व्यापारीबाट रु ७५ लाख लुटपाट गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button