एसएलसीको नतिजासँगै विद्यार्थी तथा अभिभावकमा अन्यौलता

पोखरान्युजडटकम, ३ असार –

परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ प्रणालीमार्फत नतिजा सार्वजनिक गरेका कारण कैयौंँ विद्यार्थी तथा अभिभावक अझै राम्रोसँग बुझ्न नसकेका कारण अन्यौलमै छन् ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार नतिजा सार्वजनिक गरेपछि कास्कीस्थित जिल्ला शिक्षा कार्यालयको नतिजामा उल्लेख भएको ग्रेडिङअनुसार कुन तहसम्मका विद्यार्थीले भर्ना हुन पाउने हो भन्ने जिज्ञासा कार्यालयमा फोन गरेर मेटाउने प्रयास उनीहरुले गरेका छन् । यस वर्षको परीक्षाफललाई कार्यालयले ‘ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई ग्रेडमा विभाजन गरेको छ । ग्रेडिङ अनुसार डी प्लस भन्दा तल अङ्क ल्याउनेले कक्षा ११ भर्ना हुन पाउने छैनन् । तर उनीहरुलाई टीएसएलसी भर्ना हुन बन्देज गरिएको छैन ।

जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक खेमराज पौडेलका अनुसार धेरै विद्यार्थी तथा अभिभावक अझै पनि अन्यौल भएका कारण कार्यालयसँग बुझ्ने गरेका छन् ।

लेखनाथ नगरपालिकास्थित जनप्रकाश उच्च मावि केन्द्रमा परीक्षा दिएका परीक्षार्थीको अर्थशास्त्र विषयको परीक्षा नदिएकामा सबैको अनुपस्थित जनाइएको, हिल साइड इङ्लिस बोर्डिङ सेकेन्ड्री स्कुलका विद्यार्थीको स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रयोगात्मक परीक्षाको अङ्क नआएका गुनासा पनि कार्यालयमा आएको छ ।

यस वर्षको एसएलसी नतिजा नेपालमै नयाँ प्रयोग भएका कारण पनि विद्यार्थी तथा अभिभावकमा धेरै अन्यौलता सिर्जना गरेको अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालको भनाइ छ । कोही पनि अनुत्तीर्ण नहुने यो प्रणालीले परीक्षा प्रतिको भय मेटाएको भए पनि यसको गुणात्मकता कस्तो रहन्छ भन्ने विषय भने गम्भीर भएको उहाँले बताउनुभयो । “एसएलसी नजिजासँगै धेरै विद्यार्थी तथा अभिभावकमा कतिसम्मले पढ्न पाउने, कुन कुन विषय पढ्न पाउने जस्ता जिज्ञासा निकै बढिरहेको छ,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button