दुई घन्टा पैदल हिँडेर एक गाग्रो पानी

  • पोखरा न्यूज
  • २०७३ अषाढ ४
Post Thumbnail

पोखरान्युजडटकम, ४ असार –

सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् ।

विश्वकर्मा समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना सुनारका अनुसार अहिले दुई–तीन घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।

“डाँडामा बस्ती भएकाले पानीको समस्या नै थियो, यसपालि लामो खडेरीले गाउँका मुहान सुकेका छन्, जुकेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता छ,” बीना सुनारले भन्नुभयो । “रित्तो गाग्रो बोकेर ओरालो बाटो जानुपर्छ, पानी भरिएको गाग्रो बोकेर उकालो हिँड्नु पर्दा निकै समस्या हुने गर्छ,” सुनारले सुनाउनुभयो ।

बस्ती नजिकैको खानेपानी मुहान सुकेर एक गाग्रो पानीलाई एक रात बिताउँदै आएको स्थानीयवासीको भनाइ छ । जिल्ला सदरमुकाम तानसेन नपा, मुझुङ, सोमादी, छहरा, भुवनपोखरी, भैरवस्थानलगायत दर्जनौँ गाविसमा पानीको निकै समस्या रहेको छ ।

खानेपानीको मुहान सुक्दा घर तथा गोठ निर्माणमा समेत पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । झन्डै ३०-४० घर भएको यो बस्तीमा पानीलगायत आधारभूत आवश्यकताका अभावमा बर्सेनि गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । छ घर परिवार गाउँबाट विस्थापित भई तराई सरेका हुन् ।सोमादी गाविस–५ का स्थानीय बासिन्दा राजेन्द्र विश्वकर्मा गाउँमा आधारभूत आवश्यकता परिपूर्ति नहुँदा विस्थापितको सङ्ख्या बढेको छ ।

खानेपानी र सडक विस्तारका लागि पहल भइरहेको र आगामी आर्थिक वर्षभित्र स्थानीय बासिन्दाको पहुँच खानेपानी र सडकमा पुग्ने उहाँ बताउनुहुन्छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस