तरकारी खेतीबाट मनग्य आम्दानी

पोखरान्युजडटकम, ४ असार –

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् ।

जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनीहरु बताउँछन् ।

कोलडाँडा– ८ र ९ का ५० भन्दा बढी परिवार परम्परागत मकै र धानखेती छाडेर व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि आर्थिक स्थितिमा सुधार आएको बताउँछन् । तीन वर्षअघि यही समयमा परम्परागत रूपमा गरिने धान र मकैखेती गर्न व्यस्त हुने यहाँका किसान अहिले भने व्यावसायिक तरकारी खेतीबाट तेब्बर फाइदा लिन कस्सिएका छन् ।

कोलडाँडाका स्थानीय बासिन्दा रेमन आले धान र मकैखेती गर्न छाडेर तरकारीखेतीमै व्यस्त हुनुहुन्छ । उहाँले धान र मकै खेतीबाट वर्षमा साँझ–बिहान खान पुग्ने गरेको विगतको यथार्थ सुनाउँदै अहिले तरकारीखेती गर्न थालेपछि वर्षमा रु चार लाखसम्म बचत गर्न सकेको बताउनुभयो । बारी र खेतमा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेडा, भान्टा लगाएका छन् । उहाँले सिजन अनुसारको तरकारी खेतीबाट आफूले मासिक रु ४० हजार आम्दानी गरेको बताउनुभयो । परम्परागत खेतीबाट भन्दा सीप र मेहनतले व्यावसायिक तरकारी खेतीबाट बढी फाइदा लिन सकिने विश्वास आलेको छ ।

गहुँ, धान र मकैखेती गरेर परिवारका सबै सदस्यले साँझ–बिहान पेट भर्न पनि धौधौ हुन्थ्यो तर तरकारी खेतीले छोराछोरीलाई पढाउन, खाएर, राम्रो लगाएर बचत समेत गरेको कोलडाँडा– ९ का स्थानीय किसान नरबहादुर चौहानले बताउनुभयो । बाह्रमहिना तरकारी खेतीमा व्यस्त हुने यहाँका किसानले उत्पादन गरेको तरकारी बुटवल, तानसेन, भैरहवासम्म जाने गरेको छ ।

वर्षात्मा उत्पादन भएको सिमी, गोलभेडा, धनियाँ,रामतोरिया, भान्टा, बोडिलगायतका तरकारी तुइनबाट तिनाउ खोला तारेर सिद्धार्थ राजमार्गमा झारेपछि बजारसम्म जाने गरेको स्थानीय खड्कबहादुर रास्कोटीले बताउनुभयो ।

तुइनले यहाँ उत्पादन भएको तरकारी तथा अन्य कृषिजन्य उपज बजारसम्म लैजान र बजारबाट गाउँमा आवश्यक बस्तु ल्याउन सहज भएको उहाँले बताउनुभयो । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यावसायिक रूपमा तरकारीखेती तर्फ आकर्षित भएको उनीहरूको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button