पर्यटनको नयाँ प्रोडक्ट ‘मिस टुरिज्म’

  • पोखरा न्यूज
  • २०७३ अषाढ ४
Post Thumbnail

पोखरान्युजडटकम, ४ असार –

नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको मिस टुरिज्मलाई पर्यटनको नयाँ प्रोडक्टका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

‘मिस टुरिज्म–२०१६’ को तयारीबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी पर्यटन व्यवसायीले मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने भन्दै यसलाई गुणस्तरीय व्यवस्थित बनाइनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि मिस टुरिजम प्रभावकारी माध्यम हुने भन्दै यसलाई सफल पार्न बोर्डको सहयोग रहने बताउनुभयो । उहाँले मिस टुरिज्मलाई बोर्डको सद्भावना दूत बनाउने विषयमा आवश्यक पहल गर्ने पनि आश्वासन दिनुभयो ।

‘पर्यटनको नयाँ प्रोडक्ट’ का रुपमा आएको मिस पर्यटनलाई पर्यटन प्रवद्र्धनको दरिलो माध्यमका रुपमा विकास गर्न प्रतियोगिता सान्दर्भिक हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले बताउनुभयो । उहाँले प्रतियोगितालाई स्वास्थ्य, सुन्दर र विवादरहित बनाउन सरोकारवाला निकायको सक्रियता चाहिने खाँचो औँल्याउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा नयाँ आयामका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडा र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ ९नाटोज०का अध्यक्ष शिव अधिकारीले मिस पर्यटनलाई पर्यटकीय प्याकेजका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

प्वाइन्ट मिडिया प्रालिको आयोजनामा आगामी भदौ २५ गते आयोजना हुने मिस टुरिजमका लागि भोलि आइतबारदेखि देशभर आवेदन खुल्ला गरिनेछ । प्रतियोगितालाई विवादरहित भव्य र सभ्य बनाउन सिङ्गो पर्यटन क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो ।

पर्यटन क्षेत्रको सबैभन्दा लामो र ठूलो इभेन्ट मानिएको मिस टुरिज्म काठमाडौँसहित देशका प्रमुख पर्यटकीय गन्तव्यमा अडिसन लिइने र काठमाडौँमा अन्तिम प्रतिस्पर्धा गराइनेछ ।

मिस टुरिज्मलाई स्कुटर, फस्ट रनर अपलाई नगद रु ३० हजार र सेकेन्ड रनर अपलाई रु २० हजार प्रदान गरिनुका साथै मिस टुरिज्मलाई पर्यटन प्रवद्र्धन र विकासमा सक्रिय गराइने आयोजकले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस