यस वर्ष तेह्र गाविस धुवाँमुक्त बन्ने

पोखरान्युजडटकम, ८ असार –

यस वर्ष पाँचथर जिल्लाका १३ गाउँ विकास समितिलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ । अहिलेसम्ममा नौ गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गरिसकिएको र यही महिनाभित्र अन्य चार गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको वैकल्पिक ऊर्जा विकास केन्द्र नेपालका अध्यक्ष हरिप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गाविसका सबै घरधुरीमा धुवाँरहित सुधारिएको चुलो निर्माण गरी प्रयोगमा ल्याइएपछि घरभित्रको धुवाँमुक्त गाविस घोषणा गर्ने गरिएको छ । जिल्लाको फिदिम नगरपालिकासहित सबै गाविसलाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान सञ्चालनमा ल्याई प्रत्येक घरमा धुवाँरहित चुलो निर्माण गर्न आग्रह गर्ने तथा उक्त कार्यलाई सघाउ पुरयाउने गरिएको छ ।

प्रत्येक गाविसमा तालिमप्राप्त (प्रोमोटर) प्राविधिकको सहायतामा अभियान अघि बढिरहेको अभियान सञ्चालन गर्दै आएको वैकल्पिक ऊर्जा विकास केन्द्र नेपालका अध्यक्ष सुवेदीले बताउनुभयो । गाविसलाई धुवाँमुक्त घोषणा गर्ने क्रममा नौ गाविसका सबै घरधुरीमा सुधारिएको चुलो निर्माण गरी घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले हालसम्ममा ओलने, फाक्तेप, रवी, लुम्फाबुङ, थर्पू, इम्बुङ, सिदिन र नवमीडाँडा गाविस घरभित्रको धुवाँमुक्त भइसकेको जानकारी दिनुभयो । “बाँकी चार गाविस एकतीन, सराङ्डाँडा, चिलिङ्दिन र ओयामलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ”, सुवेदीले भन्नुभयो, “केही प्राविधिक समस्याका कारण ढिलाइ हुन गएको हो ।”

जिल्ला विकास समितिको सहयोगमा घरभित्रको धुँवामुक्त जिल्ला निर्माणको अभियान सञ्चालन गरिरहेको उक्त संस्थाले चालु आवमा पाँच हजार घरधुरीलाई धुवाँमुक्त घोषणा गर्ने तयारी गरेको थियो । यस क्रममा जेठ मसान्तसम्ममा झन्डै तीन हजार ६०० घरधुरीमा सुधारिएको चुलो जडान भएको संस्थाका अध्यक्ष सुवेदीको भनाइ छ ।

संस्थाले राखेको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको उहाँको भनाइ थियो । ४१ हजार १७४ घरधुरी रहेको पाँचथरमा जेठ मसान्तसम्ममा १७ हजार घरधुरीमा सुधारिएको चुलो जडान भइसकेको संस्थाको तथ्याङ्क छ ।

सबै गाविसमा अभियान सञ्चालन भइरहेको र घोषणाको तयारीमा रहेका गाविसमा थोरै घरधुरीमा मात्र चुलो निर्माण गर्न बाँकी रहेको सुवेदीले बताउनुभयो । यस्तै, विभिन्न गाविसमा चुलो निर्माणका लागि स्थानीयवासीलाई प्रबद्र्वकको रुपमा तालिम दिने क्रमसमेत चलिरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button