किसान आधुनिक कृषि प्रविधितर्फ

पोखरान्युजडटकम, ७ असार –

बैतडीका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । वासुलिङ्ग–२ मा रहेको प्रगतिशील कृषक समूहका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बैतडीमा सञ्चालनमा रहेको किसान परियोजनाको सहयोगमा उनीहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । किसान परियोजनाको सहयोगमा तरकारी खेती, मकै खेती तथा मुसुरो खेतीमा नयाँ प्रविधि सुरुवात गरिएको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहन बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मकै खेतीमा पनि नयाँ प्रविधि अपनाएका छौँ ।”

हाल तरकारी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि, थोपा सिँचाइ प्रविधिका माध्यमबाट तरकारी खेती सुरु गरिएको समूहका सदस्य प्रेमबहादुर बिष्टले भन्नुभयो, “नयाँ प्रविधिबाट आफूहरुलाई धेरै फाइदा भएको छ ।” परम्परागत खेतीभन्दा आधुनिक प्रविधिका माध्यमबाट खेती गर्दा फाइदा हुने गरेको समेत उहाँले बताउनुभयो । आधुनिक प्रविधिबाट खेती गरेमा उत्पादनमा वृद्धि हुने कृषि प्राविधिकहरुले बताएका छन् ।

समूहमार्फत गहुँत सङ्कलन गर्दै

वासुलिङ्ग–२ का किसान समूहमार्फत गहुँत सङ्कलन गर्न थालेका छन् । गहुँत सङ्कलनको माध्यमबाट गोठ सुधार गर्ने र मलका रुपमा प्रयोग गर्नका लागि गहुँत सङ्कलन गर्न थालेको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहनबहादुर बिष्टले बताउनुभयो ।

“सङ्कलन गरिएको गहुँत जैविक विषादी र मलका रुपमा प्रयोग गर्न सकिने भएकाले सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलन गरेको गहुँतले विभिन्न बालीमा लाग्ने रोगकीरा नियन्त्रणका साथसाथै मलको समेत काम गर्ने गरेको छ ।” कृषक समूहका १० जनाले गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेको बताइएको छ । आफूहरुले सङ्कलन गरेको गहुँतलाई आवश्यकताअनुसार तरकारी बालीमा मल र विषादीका रुपमा प्रयोग गर्ने गरेको किसान प्रेमबहादुर बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका साथै गोठमा वस्तुभाउलाई लाग्ने रोगमा समेत कमी आएको छ ।” गहुँत सङ्कलनका माध्यमबाट गोठको सुधार हुनुका साथै बालीनालीमा प्रयोग गरेमा बाली सप्रिने कृषि प्राविधिकले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले समेत वासुलिङ्ग गाविसमा भकारो सुधार कार्यक्रमका माध्यमबाट किसानलाई गहुँत सङ्कलन गर्ने सीप सिकाएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button