
पोखरान्युजडटकम, ८ असार –
अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अहिले विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ ।

शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ ।

सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । रासस





