चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

पोखरान्युजडटकम, ९ असार –

प्राकृतिक प्रकोप चट्याङले पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक सहभागी रहेका छन् । सम्मेलनमा १३ वटा कार्यपत्र प्रस्तुत गरिने छ । चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र (लाइटिनिङ एण्ड एट्मोस्फेरिक रिसर्च सेन्टर) नेपालले आयोजना गरेको उक्त सम्मेलनको नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक विपद् न्यूनीकरणबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको छलफलबाट आउने सुझावमा सरकारले ध्यान दिने विश्वास दिलाउनुभयो ।

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेले चट्याङलाई समेत विपद् व्यवस्थापनमा समावेश गर्नुपर्ने सुझाव दिँदै यसले पुरयाउने धनजनको क्षतिलाई कम गर्न बिमाको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष श्रीराम शर्माले नेपालको पूर्वी दक्षिण भेग झापा, मोरङ तथा चुरे क्षेत्रमा चट्याङको बढी जोखिम रहेको जानकारी दिँदै भूकम्पपछि पुनःनिर्माण गर्न लागिएका संरचनालाई भूकम्पका साथसाथै चट्याङ प्रतिरोधात्मक पनि बनाइनुपर्ने बताउनुभयो ।

उक्त सम्मेलनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) तथा केप एलेक्ट्रिक नामक संस्थाले सहयोग गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button