बढी भाडा असुल्ने र मिटर जडान नगर्ने ट्याक्सीलाई पोखरामा कार्वाही शुरु, ट्याक्सी थन्काउने ब्यबसायीको धम्की

  • पोखरा न्यूज
  • २०७३ अषाढ ९
Post Thumbnail

सन्देश श्रेष्ठ

पोखरान्युजडटकम , ९ असार –

पोखरामा मिटरमा नचलाउने तथा बढी भाडा असुल्ने ट्याक्सीलाई कार्वाही गर्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशनमा ट्राफिक प्रहरी कार्यालय कास्कीले तोकिएको भाडा भन्दा बढी भाडा असुल्ने तथा मिटर जडान नगरेका ट्याक्सीलाई विहीबारबाट कार्वाही गर्न शुरु गरेको हो ।

कार्वाही शुरु भएको पहिलो दिन विहीबार ४ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्राफिक प्रहरीले विहीबार यात्रुसँग बढी भाडा असुलेको भन्दै ग.१ ज. २०५२, ग.१ ज. ४२३२, ग.१ ज. ४६९८ र ग.१ ज. ४१७६ नम्बरका ४ वटा ट्याक्सी नियन्त्रणमा लिएर कार्वाहीका लागि जिल्ला यातायात कार्यालयमा पठाएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शिव थापाले जानकारी दिए । उनीहरुलाई सवारी यातायात ऐन अनुसार कार्वाही हुनेछ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सीले मिटरमा ट्याक्सी चलाउन नमानेमा, बढी भाडा लिएमा वा भनेको ठाउँमा जान नमानेमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । जिप्रका कास्कीले विहीबार दिउँसो एक सूचना जारी गर्दै मिटरमा ट्याक्सी चलाउन नमानेमा, बढी भाडा लिएमा वा भनेको ठाउँमा जान नमानेमा प्रहरीको हटलाईन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोन गरेर जानकारी गराउन अपिल गरेको हो ।

मिटरमा ट्याक्सी नचलाउने तथा मनपरी भाडा लिने ट्याक्सीबिरुद्ध अभियान सञ्चालन शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्रचार्यले बताए । उनले भने,–‘सेवाग्राहीले गुनासो गरेको आधारमा आजदेखी कार्वाही शुरु गरेका हौं, यो निरन्तर जारी रहन्छ ।’

जबरजस्ती गरे ट्याक्सी थन्काउँछौं – ब्यवसायी

मिटर नचलाउने तथा बढी भाडा लिने ट्याक्सीबिरुद्ध प्रहरी प्रशासनले कार्वाही अभियान शुरु गरेको प्रति ट्याक्सी व्यवसायीले भने बिरोध जनाएका छन् । सरोकार वालासँग छलफलनै नगरी प्रहरी प्रशासनले जबरजस्ती कार्वाही अभियान चलाएको भन्दै उनीहरुले ट्याक्सी घरमै थन्काउने धम्की दिएका हुन् ।

ट्याक्सी व्यवसायी समिति कास्कीका अध्यक्ष गान्धीराज गिरीले वैज्ञानिक भाडादर कायम नगरी मिटरमा ट्याक्सी चलाऊ भन्नुको कुनै अर्थ नहुने भन्दै भने,–‘मिटरमा ट्याक्सी चलाउन त्यति छिटो सम्भव छैन, सरोकारवालाहरुसँग छलफल नै नगरी जबरजस्ती कार्वाही अभियान शुरु गर्नु जायज हैन र यसको हामी विरोध गर्छौं ।’ उनले थपे,–‘मिटरमा ट्याक्सी चलाउने हो भने पहिले वैज्ञानिक भाडादर कायम गर्नुपर्छ, हैन भने अहिलेको भाडादरमा मिटरमा ट्याक्सी चलाउन सकिन्न, बरु घरमै थन्काईन्छ ।’ उनले भर्खरको भर्खर मिटर जडान गर्न सम्भव नहुने जिकिर गरे । पोखरामा मिटर जडान गर्ने ठाउँ एउटा मात्र रहेको र त्यहाँ दिनमा १०-१२ वटा भन्दा बढी मिटर जडान गर्न नसकिने भएकाले तत्कालै कार्वाही शुरु गर्नु उपयुक्त नहुने उनको तर्क छ । मिटर जडान गरेर मिटरमा ट्याक्सी चलाउन आफूहरु राजि भएपनि भाडादर भने बढाउनुपर्ने उनको भनाई छ ।

उनले यसअघी २०७० सालमा वैज्ञानिक भाडादर निर्धारण गर्न प्रशासनकै अगुवाईमा एक समिति बनेको र त्यसले भाडा बढाउन सिफारिस गरेपनि यातायात विभागमा गएर त्यो थन्किदा अहिले समस्या भएको बताए । उनले व्यवसायीले प्रशासनले पेल्न खोजेको भन्दै आफूहरुको कुरा कसैले नसुन्दा मर्कामा परेको गुनासो समेत गरे ।

पोखरामा हाल करीब ३ हजार ५ सय ट्याक्सी सञ्चालनमा छन् । जसमध्ये करीब १४ ले मात्रै ट्याक्सीमा मिटर जडान गरेका छन् । जडान गरेका केहीले मिटरमा चलाउन नसक्ने भन्दै बिगारेर चलाउने गरेको पाईन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस