ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने

पोखरान्युजडटकम, १० असार –

ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन् ।

आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रु दुई करोड ८८ लाख ६८ हजार, होटल एन्ड लिजरको रु ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कोपरेसनको रु दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रु चार करोड ५० लाख लगानी रहेको छ ।

त्यस्तै अर्गानिक इगटेबल्सको रु ५० लाख, होटल विथ रेस्टुराँको रु २४ लाख, वित्तीय लगानी योजना विकासको रु एक अर्ब ७५ करोड ५० लाख, जिटी एन्ड टि होटलको रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टको रु आठ करोड लगानी रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आइल्यान्डका उद्योगमध्ये प्याकेजिङ मिनरल्स मेनुफेक्चरिङको रु २४ करोड, अर्गानिक भेजिटेबल्सको रु ५० लाख, टाइगर टु प्रालिको रु ९० करोड, अस्पताल सञ्चालन गर्न रु दुई अर्ब ८४ लाख ४३ हजार र सनसाइन भ्याली अर्गानिक फर्मको रु २५ करोड लगानी रहेको छ ।

आइल्यान्डको लगानी रहेको नेपाल बोर्डस लिमिटेडले मुलुकमा पहिलोपटक २०५० साल वैशाख २ गते लगानी गर्न स्वीकृति पाएको हो भने पछिल्लो पटक २०७२ साल वैशाख ३१ गते सनसाइन भ्याली अर्गानिक फर्मले लगानी गर्न स्वीकृति पाएको विभागको विदेसी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले जानकारी दिनुभयो ।

नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् भने सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button