खानेबानीमा सुधार : स्वास्थ्य जीवनको आधार

  • पोखरा न्यूज
  • २०७३ अषाढ १०
खानेबानीमा सुधार : स्वास्थ्य जीवनको आधार

पोखरान्युजडटकम, १० असार –

पहिलो पटक खाद्य स्वच्छता र पोषणसम्बन्धी दुईदिने मेला आजदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको छ ।

मेला शनिबारसम्म सञ्चालन हुने छ । मेलाको कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्दै खानेबानीमा सुधार ल्याउनु भनेको स्वास्थ्यमा सुधार हुनु हो भन्नुभयो ।

नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घको आयोजनामा भएको सो मेलामा विभिन्न जातीय संस्कृति झल्कने खाद्यवस्तुका ७८ कक्ष रहेको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा हुमा वखिमले राससलाई जानकारी दिनुभयो । आधुनिक र पत्रु खाद्य पदार्थ कक्षमा समावेश गर्न मनाही गरिएको छ ।

सो अवसरमा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले पौष्टिक तत्व भएका मकै, ढिंडो, आलु, कोदो, फापर, जौ, गहुँ लगायत खाद्य पदार्थ खान छाडी अखाद्य र तयारी खाना खाने बानीमा सुधार ल्याउन मेलाले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत कमलप्रसाद रेग्मीले खानेबानीमा परिवर्तन ल्याउने तथा खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतना फैलाउन उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।

खाद्यविज्ञ डा अरुणा उप्रेतीले व्यस्त र आधुनिक जीवनशैलीका कारण वयष्क र बालबालिकाले समेत तयारी खानेकुरामा लत बस्दै गएकाले मुलुकमा कुपोषणको अवस्था भयवह बन्दै गएको बताउनुभयो ।

नेपालमा पाँच वर्षमुनिका झन्डै ४१ प्रतिशत बालबालिका र करिब ५० प्रतिशत महिला कुपोषित रहेको अनुमान गरिएको छ । त्यस्तै प्रतिशत महिलामा फलाम तत्व कम भएर रगतको कमीबाट हुने रोग एनेमियाको समस्या देखिएको छ । सहर बजारका सम्पन्न परिवारका महिलाले आवश्यकताभन्दा बढी परिमाणमा पोषण तत्व सेवन गरेका कारण करिब १४ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ ।

कुपोषणका कारण शिशु जन्मने समय र जन्मिसकेपछि बढी सङ्ख्यामा महिलाको मृत्यु हुने गरेको छ । कुपोषण रोक्न स्थानीयस्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न सागपात, तरकारी, गेडागुडी, फलफूल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपात लगायत खाद्य पदार्थ सन्तुलित परिमाणमा खानुपर्छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस