नाबालिका बलात्कार गर्ने पुजारी पक्राउ

पोखरान्युजडटकम, १० असार –

नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । पुजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट देखिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बीस किलो चरेस पक्राउ

वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले आज २० किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट भित्र्याइएको चरेस घ्युको ग्यालेनमा लुकाइ भारततर्फ लैजाने क्रममा प्रहरीले तीन जना युवकसहित उक्त परिमाणको लागुऔषध नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका– २ छपकैया निवासी जावेद आलम, वडा नं ३ निवासी राजा अन्सारी र मकवानपुर हेटाँैडा– ८ निवासी सुमन लामा रहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरबाट खरिद गरिएको चरेस रक्सौलतर्फ लैजान लागेको पूर्व सूचनाका आधारमा तीनै जनालाई पक्राउ गरिएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button