पोखरान्युजडटकम, ११ असार –
अघिल्लो वर्ष एउटा मरेको गैँडामा क्षयरोग भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जले मरेका अन्य जनावरको समेत परीक्षण थालेको छ ।
निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुमा रोगको सङ्क्रमण नफैलियोस् भनेर कुनै पनि वन्यजन्तु मरेमा परीक्षण गर्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
मरेकामा सङ्क्रमण भेटिए जीवित वन्यजन्तुको सुरक्षामा तत्कालै ध्यान दिन सकिने भएकाले परीक्षण थालिएको निकुञ्जले जनाएको छ । निकुञ्जको पश्चिम क्षेत्रमा केही मरेका स्याल भेटिएपछि त्यसको समेत नमुना सङ्कलन गरेर परीक्षण गरिएको कँडेलले बताउनुभयो । “हामीले अब मरेका वन्यजन्तुको परीक्षण थालेका छौँ,” प्रमुख कँडेलले भन्नुभयो– “अहिलेसम्म एउटा गैँडामा क्षयरोग भेटिए पनि अन्यमा कुनै रोग देखिएको छैन ।”
जिउँदो वन्जयन्तुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भने गाह्रो रहेको निकुञ्जले जनाएको छ । तै पनि अघिल्लो वर्ष गैँडामा क्षयरोग पुष्टि भएपछि यसरी निकुञ्जले हरेक मरेका वन्यजन्तुको पहिलो पटक परीक्षण थालेको हो ।
नेपालको संरक्षित क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि चोरी सिकार सबैभन्दा ठूलो चुनौती रहेको भन्दै हरेक कार्यक्रम चोरी सिकार नियन्त्रणमै केन्द्रित थिए । अब वन्यजन्तुको स्वास्थ्यमा समेत ख्याल गर्नुपर्ने अवस्था आएको छ । त्यसैले निकुञ्जले परीक्षण थालेको हो ।
चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारीमा २०७१ साल फागुन ५ गते कालगतिले मरेको एउटा पोथी गैँडाको जापानमा गरिएको नमुना परीक्षणमा एक वर्षपछि क्षयरोग पुष्टि भएको थियो ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले गैँडामा ब्याक्टेरिया भएको पुष्टि भएकाले अन्य वन्यजन्तुको स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्नुपर्ने बताउनुभयो ।
मुख्यगरी घरपालुवा जनावर, क्षयरोग लागेका हात्ती जङ्गल लैजान नहुने संरक्षणकर्मी बताउँछन् । तर चितवन निकुञ्ज आसपास यस्ता जनावरको दैनिक आवतजावत हुन्छ ।
बासस्थान संरक्षण र आहाराको राम्रो व्यवस्था भयो भने पनि रोग प्रतिरोधात्मक शक्ति बढी हुने हुँदा रोगको सङ्क्रमण जङ्गली जनावरमा कम हुने गैँडा विशेषज्ञ नरेश सुवेदी बताउनुहुन्छ । चितवन निकुञ्जमा ६०० भन्दा बढी गैँडा छन् । एक सय २० भन्दा बढी दुर्लभ पाटेबाघ छ ।
गौरीगाई, भालु, चित्तल, जरायो तथा चराचुरुङ्गी प्रसस्तै छन् । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल ती जीवजन्तुको स्वास्थ्यमा निकुञ्जको क्षमताले भ्याएसम्म काम गरिने बताउनुहुन्छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution