लोप हुँदैछन् काठमाडौँका ढुङ्गेधारा

पोखरान्युजडटकम, ११ असार –

लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला रु मन दुने तस्बिर दैन, भ्वँया तस्बिर माला दाइचा, वहेँला मजुला र? ( सुनको धारा, चाँदीको धारा, ढुङ्गेधारा धारा होइनन् र रु मनभित्र तस्बिर भइकन पनि दाइलाई कागजको तस्बिर किन चाहियो रु बहुला कुरा भएन त ? )

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यो नेवारी कला र संस्कृतिले भरिपूर्ण काठमाडौँ उपत्यकामा जताततै पाइने ढुङ्गेधाराको वर्णन गरी नेपाल भाषामा गाइने प्रेम प्रसङ्ग जोडिएको एउटा गीतको पङ्क्ति हो । यो केटीको तस्बिर माग्ने एक केटालाई केटीले दिएको सटिक जवाफ हो ।

काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको छ । आजकल तिर्खा लाग्ने उखरमाउलो गर्मीमा यस्ता ढुङ्गेधाराको सम्झना जो कसैलाई हुन्छ ।

पानीको अभाव झेलिएको अहिलेको अवस्थामा यसका विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा हो । चिसो र शीतल पानीको स्रोत ढुङ्गेधाराबाट झरेको पानी काठमाडौँका जनताले सयौँ वर्षदेखि निरन्तर उपभोग गर्दै आएका छन् । जमिनमुनि जलभण्डारमा सञ्चित पानी ढुङ्गेधारामार्फत चौबिसै घन्टा झर्ने गरी प्रवाह गर्ने व्यवस्था यसमा मिलाइएको हुन्छ ।

ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको प्रणाली होइन । यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडौंको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ ।

उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौँं, ललितपुर तथा भक्तपुरका टोल टोलका यस्ता ढुङ्गेधाराको मुख्य विशेषता भनेको चौबिसै घन्टा पानी बगिरहनु हो । नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएको यस्ता ढुङ्गेधारा(ल्वँहिटी), सुनधारा (लुंहिटी), मरुहिटी (केही नभएको धारा), थँहिटी (माथिल्लो धारा), क्वहिटी (तल्लो धारा), वह हिटी (चाँदीको धारा) आदि अहिले पनि उपभोक्ता माझ लोकप्रिय छन् ।

बालाजुका रवीन श्रेष्ठ भन्छन्–“केही वर्षअघिसम्म पनि बालाजुको बाइसधाराले कति पानी दिइरहेको थियो भन्ने सबैले देखेकै कुरा हो, काठमाडौँको लुँहितीजस्ता धारा सुकेकामा सरकारको पटक्कै ध्यान गएको छैन ।”

उहाँले थप्नुभयो– “विशेष गरी नेवार बस्तीभित्रका ढुङ्गेधारा नेवार समुदायको मौलिक पहिचान मात्र नभई राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षणबाट राष्ट्रिय पहिचानको संरक्षण हुन्छ, उपभोक्ताको पानीको आवश्यकता परिपूर्तिका लागि सहायक पनि हुने भएकाले सरकारले राष्ट्रिय नीति तयार गरेर आवश्यक बजेटको व्यवस्था गरी ढुङ्गेधाराको संरक्षणका लागि योजनाबद्ध रुपमा पहल गर्नुपर्छ ।”

सिन्धुपाल्चोकबाट आई बानेश्वरमा बस्दै आउनुभएका दुर्गाबहादुर लामाले पानीको स्रोतको विकल्प, ऐतिहासिक महत्व तथा नेवार समुदायको छुट्टै पहिचान जोडिएका कारण यसको संरक्षण गर्नुपर्छ भन्नेमा कुनै दुईमत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “विज्ञान प्रविधिको विकास तथा तीव्र सामाजिक परिवर्तन एवम् जनसङ्ख्या वृद्धिका कारण ऐतिहासिक रुपमा धेरै महत्व बोकेका धेरैजसो ढुङ्गेधारा हाल सुकेका अवस्थामा पुगेका छन्, जुन निकै दुःखद छ । काठमाडाँैं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) को धाराको पानी नआउने ठाउँमा गैरनेवार समुदायले पनि ढुङ्गेधाराको पानी प्रयोग गर्दै आएका छन्, पुरानो बस्ती र भित्री सहरका बासिन्दालाई पानी अभावको बेला यी ढुङ्गेधाराले केही राहत अवश्य दिएको छ ।” उहाँले खानेपानीको विकल्पका रुपमा ढुङ्गेधाराको पानीलाई सदुपयोग गर्नु बुद्धिमानी हुन्छ भन्दै आकर्षक कलाको प्रस्तुति रहेको ढुङ्गेधाराको संरक्षणबाट पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताउनुभयो ।

अहिले धेरैजसो ढुङ्गेधारामा पानी बग्दैन, सुख्खा ढुङ्गाको टुटी मात्र बाँकी छ । सहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्चले गरेको एक अध्ययन अनुसार काठमाडौँं उपत्यकाभित्र ३९४ ढुङ्गेधारा फेला पारेका छन् । तीमध्ये २२९ वटाबाट निरन्तर पानी बगिराखेका् तथा ६२ वटा सुकिसकेका छन् । त्यस्तै ५७ ढुङ्गेधारा पुरिइसकेका छन् । अहिले काठमाडौँमा खानेपानीको माग क्रमशः बढ्दै गएको छ भने सरकारले सर्वसाधारण जनतालाई पर्याप्त खानेपानी उपलब्ध गर्न सकेको छैन ।

केयुकेएलले पर्याप्त खानेपानी उपलब्ध गराउन नसकेको धेरै वर्ष भइसकेको छ । सो संस्थाका अनुसार हाल काठमाडौँमा दैनिक ३७ करोड लि पानीको माग भए पनि नौ करोड लिटर मात्र पानी वितरण हुन्छ ।

काठमाडौँंमा गर्मी याममा मात्र नभई वर्षभरि नै खानेपानीको समस्याको अनुभव आफूले गरेको कलङ्कीका शान्तबहादुर क्षेत्री बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“गर्मी याम लागेसँगै हरेक वर्ष खानेपानीका समस्या थप जटिल बन्ने गर्छ, धेरैजसो सहर गल्लीका धारामा पानी आउँदैन, मानिस पानीका लागि दौडधूप गर्नु लागि दिनचर्या नै भइसकेको छ ।”

धनी वर्गलाई त्यति प्रभाव नपरे पनि दिनदिनै कमाइ गरेर खानुपर्ने गरिब वर्गका लागि पानीको तिर्खा मेटाउनु दैनिक समस्या बनिरहेको उहाँको भनाइ छ । धनी वर्गले ट्यांकरबाट पानी खरिद गरेर पानी खान्छन तर विपन्न परिवारलाई पानीको जोहो गर्न ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ ।

विश्वव्यापी मानवाधिकार घोषणापत्र, सन् १९४८ र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६ मा मानिसलाई खाना, बसोबास, शिक्षा, स्वास्थ्योपचारको अधिकार जस्तै स्वच्छ खानेपानी पिउने अधिकारको पनि व्यवस्था गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button