अपहरण गर्ने मुख्य योजनाकार पक्राउ

पोखरान्युजडटकम, १२ असार –

सिरहाको लहान नगरपालिका–७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पक्राउ पर्नेमा लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा काठमाडौँको सुन्धारास्थित एक गेष्टहाउसबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका ठाकुरसहित चारजनाको समूहले गत २०७१ कात्तिक २९ गतेका दिन सिरहा नगरपालिका–७ का गुरुदयाल महतोले आफैँले चलाउने गरेको को १ च ६६४१ नंको टाटा सुमो गाडी रिजर्भ गरी इटहरीसम्म लिएर गएका र फर्कने बेलामा नक्कली बिरामी महिला चढाइ सिरहाको गोलबजार फर्कने क्रममा साँझ ८ः३० बजेतिर सप्तरीको पन्सेरा गाविस–७ स्थित खरचुइया पुलमा उक्त गाडी रोकेर महतोको साथमा भएको नगद रु ३७ हजार तथा मोबाइल फोन लुटपाट गरी उनलाई पेस्तोल देखाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

सो समूहले विभिन्न नम्बरबाट महतोका आफन्त तथा परिवारलाई टेलिफोन गरी फिरौतीबापत रु ५० लाख दिन भनेका र रकम नदिएमा ज्यानसमेत मार्ने धम्की दिएका थिए ।

अपहरित महतोलाई प्रहरीले घटना भएको ३१ दिनपछि सकुशल उद्धार गरी घटनामा संलग्न अन्य तीनजनालाई तत्काल पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनैजनाउपर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भई उनीहरु हाल सप्तरी कारागारमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button