उत्तरगया धामलाई सङ्कटमा पार्न नहुने

पोखरान्युजडटकम, १२ असार –

जिल्लाको तुप्चे गाविसमा निर्माण गरिने मध्य त्रिशूलीगङ्गा जलविद्युत् आयोजनाले निर्माणको क्रममा ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगया धामको अस्तित्व सङ्कटमा पार्न नहुने स्थानीयवासीले बताएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उत्तरगया क्षेत्र विकास समिति र हिन्दू कर्मकाण्ड संस्थाले संयुक्तरुपमा शनिबार बेत्रावतीमा आयोजना गरेको कार्यक्रमका बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटकीय, धार्मिक एवम् ऐतिहासिक क्षेत्रलाई असर पुग्ने गरी आयोजना निर्माण अघि नबढाउन सरकारसँग माग गरेका छन् ।

कार्यक्रममा सांसद जनार्दन ढकालले विकास निर्माण अहिलेको आवश्यकता रहेको बताउँदै जलविद्युत्ले गर्ने विकाससँगै स्थानीय पुरातात्विक, धार्मिक तथा स्थानीय धार्मिक पहिचान नष्ट गर्न नमिल्ने बताउनुभयो । उहाँले जलविद्युत् निर्माण पक्षलाई उत्तरगयाको संरचनामा कुनै पनि असर नहुने गरी डिजाइन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी शिव लामिछानेले धार्मिक पर्यटन क्षेत्रका रुपमा उत्तरगया धाम विकास भइसकेकाले अब यसलाई जसरी पनि बचाउनुपर्ने बताउनुभयो । कार्यक्रममा रसुवाका समाजसेवी भवानीप्रसाद न्यौपानेले जलविद्युत्को विकास अहिलेको आवश्यकता भएपनि धार्मिक क्षेत्रलाई जोगाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

यस्तै, नेकपा (एमाले) रसुवाका नेता अशोक घिमिरे, स्थानीय धार्मिक एवम् सामाजिक अगुवाहरु दामोदर घिमिरे, शङ्करदास डङ्गोल, विनोद घिमिरे, उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोललगायतले मन्तव्य राख्नुभएको थियो ।

माथिल्लो त्रिशूली ‘थ्रि बी’ आयोजनाबाट निस्किएको पानीलाई सुरुङबाट तुप्चे गाविसको अक्करेबजारमा ल्याई विद्युत् उत्पादन गर्ने उद्देश्य राखी सञ्चालन हुन लागेको आयोजनाले नुवाकोटको ऐतिहासिक एवम् धार्मिक क्षेत्र उत्तरगयाको अस्तित्व सङ्कटमा पर्ने भन्दै आयोजनाको विद्युत्गृह उत्तरगया नजिकै सार्न स्थानीय सरोकारवालाहरुले माग गरेका छन् ।

मनकामना गाविसमा रहेको माथिल्लो त्रिशूली ‘थ्रि बी’ आयोजनाको विद्युत्गृहबाट निस्किएको पानीलाई चार किमी सुरुङबाट ल्याएर तुप्चे गाविस वडा नं २ को अक्करेमा विद्युत्गृह निर्माण गरी ५५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण हुने चरणमा रहेपछि स्थानीय बासिन्दाले यसको विरोध गरेका हुन् ।

विद्युत्गृह सञ्चालनमा त्रिशूली नदीको पानीको प्रयोग गर्दा उत्तरगया क्षेत्रमा पानी कम हुने भएकाले स्थानीयवासीले विरोध गरेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button