लागुपदार्थ दुव्र्यसनीलाई उपचारमा प्राथमिकता दिऔँ – गृहमन्त्री बस्नेत

  • पोखरा न्यूज
  • २०७३ अषाढ १२
लागुपदार्थ दुव्र्यसनीलाई उपचारमा प्राथमिकता दिऔँ – गृहमन्त्री बस्नेत

पोखरान्युजडटकम, १२ असार –

गृहमन्त्री शक्तिबहादुर बस्नेतले लागुपदार्थ दुव्र्यसनीका लागि दण्डभन्दा उपचारमा प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले उपचार पाउनु दुव्र्यसनीको अधिकार भएको टिप्पणी गर्नुभयो । समाज विकाससँगै समस्याको प्रकृति र आयाममा आएको परिवर्तन लागुऔषधको विषयमा समेत देखिएको उहाँको भनाइ थियो । स्वस्थ जनशक्ति राष्ट्रको सम्पत्ति भएको भन्दै उहाँले लागुऔषध सम्बन्धी नीतिगत सुधारको आवश्यकता पनि औँल्याउनुभयो ।

गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोले लागुऔषध नियन्त्रण ऐन २०३३ समायानुकूल परिर्वतनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालको कारागारमा रहेकामध्ये ३० प्रतिशत भन्दा बढी लागुऔषधसम्बन्धी अपराधमा संलग्नहरु रहेका तथा वार्षिक तीन हजार भन्दा बढी पक्राउ गरी मुद्दा चलाइने गरेका विवरण प्रस्तुत गर्नुभयो ।

नेपाल सरकारका लागुऔषध नियन्त्रण अधिकारी रामेश्वर दङ्गालले परिवर्तित अवस्थामा लागुऔषधका स्वरुप पनि बदलिएकाले त्यसलाई रोक्न सोही अनुरुपको रणनीति आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा लागुऔषधसम्बन्धी चेतनामूलक गीत, सङ्गीत, नृत्य र नाटक प्रदर्शनी गरिएको थियो ।

सन् १९८८ देखि संयुक्त राष्ट्रसङ्घले जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णयसँगै विश्वभर आजकै दिन यो दिवस विविध कार्यक्रम गरी मनाइँदै आइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस